काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । गठबन्धन दलहरुबीच मन्त्रालय संख्या टुंगिएसँगै प्रधानमन्त्रीले आज दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने स्रोतले बतायो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान–रक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारको नेतृत्व गर्ने भएका छन् । अर्थमा भने प्रकाशशरण महत जांदैछन् ।
परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ । यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन ।
कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ ।
त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुँदैछ । प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ । यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल नियुक्त हुँदैछन् ।
ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ । त्यसमा शक्ति बस्नेतलाई पठाउने तयारी भइरहेको स्रोतले जानकारी दियो । २ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जसपाले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको छ ।