नेपाललाई खेल क्षेत्रमा इतिहास रच्ने अवसर



‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ यो हाम्रो राष्ट्रिय नारा हो । यस नारालाई साकार पार्ने पारा के हो ? यसको सिधा जवाफ हो, राज्यको उचित लगानी र खेलाडीहरूको प्रभावकारी प्रदर्शन/सहभागिता । खैर, पछिल्लो समय नेपालले खेलक्षेत्रमा जसरी सफलता हात पारिरहेको छ, यसकाप्रति गर्व नगरी बस्न भने सकिँदैन ।

यहि चैत २ गते त्रिवि क्रिकेट रंगशाला किर्तिपुरमा युएइलाई ९ रनले पराजित गरेर नेपाली क्रिकेट टिमले इतिहास रच्यो । साथै मुलुकलाई विश्वसामु परिचित गरायो । नेपाली क्रिकेट इतिहासमै राष्ट्रिय क्रिकेट खेलाडीहरू महिनाभरि यसरी कहिल्यै व्यस्त हुनु परेको थिएन । आजसम्म यति विध्न नेपाली दर्शकहरू किर्तिपुर मैदानमा देख्न पाइएको थिएन । नेपाली खेलप्रेमीहरूको अनौठो उपस्थिति पनि किर्तिमानी बन्यो । कोभिड-१९ महामारीका कारण हुन नसकेका विश्वकप लिग-२ का खेलहरू सम्पन्न गर्नैपर्ने बाध्यताले गर्दा नेपाली टोलीले लगातार मैदानमा तैनाथी हुनुप¥यो । जसले नेपाली क्रिकेट टोलीलाई फाइदा पु¥यायो । लिग-२ को चारवर्षे अवधिमा नेपाली क्रिकेट जगतले विश्वकप ग्लोबल क्वालिफायरको ऐतिहासिक गन्तव्य तय ग¥यो ।

सन्निकटमै नेपालले श्रीलङ्का, दक्षिण अफ्रिका, वेष्टइन्डिज, आयरल्यान्ड जस्ता शक्तिशाली र अनुभवि टोलीको सामना गर्नुपर्नेछ । त्यसमा जिम्बाब्वे र नेदरल्ययान्डस् पनि छन् । जिम्बाब्वेमा हुने प्रतिष्पर्धामा सहभागि हुन नेपालसँग जम्मा तीन महिनाको समय बाँकी छ । यसै बीचमा टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न लायकको जबरजस्त तयारी गर्नुपर्ने चुनौती पनि छ । त्यसका लागि नेपाल क्रिकेट सङ्घले केही आवश्यक तयारी गर्नुपर्ने क्रिकेट विज्ञहरू बताउँछन् । खैर, यता आगामी वैशाख ५ गतेदेखि काठमाडौँमा सुरूहुने एसीसी मेन्स् प्रिमियर कप २०२३ को तालिका सार्वजनिक भइसकेको छ । उक्त प्रतियोगितामा उत्कृष्टता हासिल गर्नुपर्ने बाध्यता नेपाली क्रिकेटरलाई छ । यस्ता धेरै सम्भावना र चुनौतीकाबीच नेपालका सामु खेल क्षेत्रमा इतिहास रच्ने अवसर आइपुगेको छ । विगतबाट पाठ सिक्दै आगतमा नेपाली खेल क्षेत्रको उन्नयनका लागि मुख्यगरी तीनवटा कामहरू गर्नुपर्ने देखिन्छ:

राज्यको उचित लगानी

आणविक हतियारको पाटोलाई थाति राखेर भन्ने हो भने आज विश्वका देशहरूले अनुसन्धान र खेल क्षेत्रमा सबैभन्दा धेरै लगानी गरिरहेको देखिन्छ । हाम्रो देश अनेकन संकटबीच अघि बढिरहेको छ । यस्तो अवस्थामा पनि नेपाली खेलाडीहरूले प्राप्त गरेको सफलता भने कम तारिफ योग्य छैन । पछिल्लो समय क्रिकेट टिमले हासिल गरेको सफलताले सरकारलाई नैतिक रूपमा ठूलो झापड हिर्काएको छ । एउटा गतिलो रंगशालासम्म निर्माण नगरेकोप्रति जनआक्रोश चर्को छ । राज्य विकास, समृद्धि, सुशासन, पारदर्शी र जिम्मेवारी जस्ता कुराहरूमा चुकेको भन्दै जनतामाझँ उचित÷अनुचित सन्देश प्रवाह भईरहेको र चौतर्फि निराशा छाएको अवस्थामा नेपाली क्रिकेटरहरूले जुन आशा भरेका छन्, यसको राज्यले उचित मूल्याङ्कन गर्नुपर्छ । सिमित रकम प्रदानले मात्रै खेलाडीहरूको सम्मान र प्रोत्साहन हुन सक्दैन । क्रिकेटरको मात्रै होइन, सबै विधाका खेलाडीहरूको परिवारदेखि संरचनासम्मको जिम्मेवारी राज्यले लिनुपर्छ । आवश्यकता र औचित्यका आधारमा खेल मैदान निर्माणमा ध्यान दिनुपर्छ । पारश्रमिक बढाउनुपर्छ । अनाश्यक आर्थिकभारलाई कटौती गरेर यस्ता परिणाम दिने, मुलुकको शीर उचो राख्ने काममा राज्यले लगानी बढाउनुपर्छ । राज्यबाट भइरहेको लगानीमाथि निरन्तर नियमन हुनुपर्छ । खेल क्षेत्रमा भइरहेको अनियमितता, लाप्रबाही र मनोमानीमाथि राज्य संयन्त्र निर्मम हुनुपर्छ ।

त्यस्तै देशका विभिन्न स्थानमा निर्माण भइरहेका रंगशालाहरू भनौ वा खेल संरचनाहरूको अवस्थाबारे अनुसन्धान गर्न सरकारले एउटा समिति बनाएरै भएपनि यो काम गर्नुपर्ने देखिन्छ । नेता/मन्त्री/प्रधानमन्त्री भएकै कारण संरचना निर्माण गर्नुभन्दा पनि आवश्यकता र औचित्यका आधारमा खेल संरचना निर्माण गर्नु बुद्धिमानी हुनेछ । नेपालको वैज्ञानिक विकास नहुनुमा अनावश्यक राजनीति हस्तक्षेप पनि एक हो । शक्तिको आडमा ठूला र महत्वराख्ने योजनाहरू गृह जिल्लामा लैजाने, वर्षौंसम्म अलपत्र पार्ने, लगानी थपिरहने गलत प्रवृत्ति देखिन्छ । जुन खारेज योग्य छ । अर्को महत्वपूर्ण कुरा भनेको उत्कृष्ट प्रतिभाहरूलाई पावर र पहँुचका आधारमा रोक्ने काम भइरहेको देखिन्छ । खेल क्षेत्रमा अनाश्वयक राजनीतिक हस्तक्षेप निन्दनीय छ । खेल प्रतिभाहरूको सम्भावनालाई योग्यता र छनोटको प्रमुख आधार बनाएर अघि बढ्दा मात्रै उचित प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गर्नुपर्छ ।

खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

खेलाडी राष्ट्रका सम्पत्ति हुन् । अझ जोड्ले भन्ने हो भने खेलाडीहरू राष्ट्रिय पूँजि हुन् । उनीहरूले अनुशासनपूर्वक मेहेनत गर्नुपर्ने हुन्छ । व्यक्तिगत रूपमा कसले के पायो ? कति पायो ? त्यसले धेरै अर्थ राख्दैन । मुलुकका लागि खेल्दैछु, जित्नका लागि खेल्दैछु, मेरो जिम्मेवारी उत्कृष्ट प्रदर्शन हो भन्ने उच्च मनोबलका साथ खेल्नुपर्छ । राज्यको लगानीको पाटोलाई थाति राखेर भन्ने हो भने दर्शकको साथ एउटा हौसला त होला । तर, खेल जित्नलाई खेलाडीहरूको प्रभावकारी प्रर्दशन नै पहिलो सर्त हो । नेपाली दर्शकहरूको साथ र घरेलु मैदानमा मात्रै उत्कृष्ट खेल्न सक्ने, तर अन्य देशमा हुने प्रतिष्पर्धामा खासै परिणाम दिन नसक्ने भन्ने ठूलो आरोप छ । यस आरोपबाट नेपाली खेलाडीहरू मुक्त हुन सक्नुपर्छ । राज्यको लगानी र राष्ट्रको गौरवलाई खेलाडीहरूले भुल्न मिल्दैन । घरेलु होस् कि बाहिर । राष्ट्रिय होस् कि अन्तर्राष्ट्रिय । नेपाली खेलाडिहरूले उच्च प्रदर्शन गर्नुपर्छ । अनि मात्रै खेलाडीप्रतिको भरोशा बढेर जान्छ । राष्ट्रको गरिमा उचो हुन्छ ।

सशक्त प्रतियोगीति

अन्नपूर्णको तयारीले सगरमाथा चुम्नु सकिन्छ ? सकिन्न । मतलव ठूलो प्रतियोगिताको लागि ठूलै सोच र ठूलै तयारी आवश्यक हुन्छ । तीन महिनाको बीचमा नेपालले ठूला टेष्ट राष्ट्रहरूसँग अन्तरदेशीय श्रृङ्खला खेल्न सके सबैभन्दा राम्रो हुनेछ । जिम्बाब्वे पुग्नु अगाडि गर्नुपर्ने तयारीका रूपमा क्यान र नेपाल सरकारले समेत पहल गरेर यस किसिमको प्रतियोगिता गर्ने हो भने ठूलो फाइदा हुन सक्छ । जसका निम्ति नेपाल क्रिकेट सङ्घ पछि पर्नुहुन्न । आसन्न परिस्थितिको लागि मात्रै नभएर बेला, मौका र अवसर पारेर शक्तिशाली टिमसँग मैत्रैपूर्ण खेलको आयोजना गर्न क्यान र सरकारले सक्नुपर्छ । क्रिकेट मात्रै होएन, फुटवलमा पनि अन्य देशका शक्तिशाली राष्ट्रिय टोलीलाई नेपाल भ्रमणको निम्तो दिने जस्ता कामहरू गर्न जरूरी छ । साथै खेलाडीहरूको पलायन नेपालको निम्ति खतरा बन्न सक्छ । त्यसतर्फ पनि राज्यले समयमै ध्यान दिन जरूरी छ ।