नेपाल फाइनलमा प्रवेश (तस्बिरसहित)



काठमाडौँ। प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ।

नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो। यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो। नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन्।

खेलको ५०औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए। भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ। नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ। पहिलो खेलमा नेपालसहित २-० ले हारेको लाओसले भुटानलाई हराएको थियो।

नेपालसँगको बराबरीका बावजुद भुटान भने घर पर्केको छ। यसअघि खेलको १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरे। दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। त्यो अग्रता नियमित समयको अन्तिम मिनेटसम्म जोगाए पनि नेपालले गोल फर्कायो।

यसअघि खेलको १९‌औं मिनेटमा भुटानका चोन्चे ग्याल्सेनले रोहित चन्दलाई बिट गरेर राम्रो अवसर सिर्जना गरेका थिए। तर त्यो बल अनन्त तामाङले पोष्ट अगाडिबाट क्लियर गरेका थिए। नेपालले ४५‌औं मिनेटमा नवीन लामाले हानेको कर्नरमा पुजन उपरकोटीको हेड पासमा सनिस श्रेष्ठले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो।

७०औं मिनेटमा दिपकराज सिंह ठकुरीको सट पोष्ट माथिबाट बाहिरियो। त्यसको ७ मिनेटपछि मनिष डाँगीले भुटानी डिफेन्डरलाई बिट गर्दै दाहिने तर्फबाट हानेको बल दोस्रो बार हुँदै बाहिरियो।

दोस्रो हाफको इन्जुरी समयमा नेपालले गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड दिए। प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन्। पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो।

तस्बिरः मुकुन्द कालिकोटे