काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र भइसक्ने बताएकी छन्।
बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।
मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् ।
इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन् । उनले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन् । उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताइन्।
उनले भनिन्, ‘उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारतभ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ । सरकारले बिस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’
मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताइन् । भारत सरकार आफूले राखेका मागहरुमा सकारात्मक रहेको उनको भनाइ छ ।