काठमाडौँ। प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा लाओसलाई नेपालले २-० ले पराजित गरेको छ।
३१औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट सानदार हेडरमार्फत गोल गरेका थिए। यस्तै ५६औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार अर्को गोल गरेर नेपालको अग्रता दिलाए।
नवुयुगले राष्ट्रिय टिमबाटआठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन्। सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए।
नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन्। सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन्। नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवासलाई पनि पहिलो रोजाइमा नै मैदान उतारेका छन्।
नेपालको प्लेइङ ११: किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ र विकास खवास।