प्रचण्डमाथिको पूर्वाग्रही प्रहार, कारण र परिणाम



तस्बिर: प्रदिपराज वन्त

गत साताको बिहिबार किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल थियो । उक्त खेलको उद्घाटन गर्न पुगेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । साथमा थिइन् छोरीहरू रेणु र गंगा । नेपाली क्रिकेट खेल जगतको लागि निकै महत्त्वपूर्ण थियो त्यो दिन । दर्शकहरूको अत्यधिक चापका कारण खेल मैदानमा पाइलो टेक्ने ठाउँ थिएन । त्यतिमात्रै होइन, क्रिकेट मैदान वरिपरिका रूखहरूमा पनि दर्शकहरूको जोखिमपूर्ण तैनाथी थियो । यतिसम्मकी बल गुडेर घेरा क्रशः हुँदा चौका हुन्छ र बल उडेर घेरा क्रशः हुँदा छक्का हुन्छ भन्नेसम्मको मात्रै ज्ञान भएका हजारौं दर्शकहरूको उपस्थिति थियो भन्दा अन्यथा नहोला । क्रिकेटप्रतिको आकर्षण मात्रै नभएर नेपालका खेलाडिहरूको आत्मबल उच्च बनाउने उद्देश्यले पनि हजारौं मानिसहरू किर्तिपुर मैदानमा पुगेको सहज अनुमान गर्न सकिन्छ । हुनपनि यूएईले दिएको ३११ रनको विशाल लक्ष्यलाई नेपालले डिएल मेडथमा ९ रनले हरायो । खेलाडिहरूले घरेलु मैदानमा पाएको यो साथले विश्वको ध्यान तान्यो। नेपाली दर्शकहरू अन्तर्राष्ट्रिय समाचार बने ।

त्यतिमात्रै होइन, उक्त दिन टिप्पणी गर्न लायक केही दृश्यहरू पनि देखिए। प्रधानमन्त्री प्रचण्डविरूद्ध दर्शकहरूले लगाएको नाराबाजि र प्रतिद्धन्दी टिमप्रतिको व्यवहार टिप्पणी गर्न लायक थियो। जसलाई राजनीतिप्रतिको वितृष्णाका रूपमा बुझ्न सकिन्छ । प्रचण्डविरूद्ध नाराबाजि गर्न नपाईने भन्ने आसय हुँदै होइन । तर, नेपाली खेलाडिहरूको मनोबल उच्च राख्न र विदेशी खेलाडिहरूलाई सम्मान गर्न खेलमैदानमा पुगेका प्रधानमन्त्रीविरूद्धको नाराबाजि शोभनीय थिएन। खैर, शीर्षकमा भनिएझैं प्रचण्डविरुद्धको नाराबाजि नेपाली राजनीतिप्रतिको बढ्दो वितृष्णासँग जोडेर हेर्न सकिन्छ । राजनीतिप्रतिको वितृष्णा, यसका कारण र परिणामबारे यथेष्ट मन्थन गर्नसमेत आवश्यक छ ।

१.वैचारिक कारण

माथि भनिएझैं ‘प्रचण्ड चोर, देश छोड’ भन्ने स्थान क्रिकेट रंगशाला हो ? होइन । विश्वले हेरिरहेको खेलमा अनावश्यक नाराबाजी किन भयो ? यसका पछाडि मुख्य तीन कारण छन् । पहिलो, प्रचण्डप्रतिको वैचारिक पूर्वाग्रह हो । त्यहाँ केपी ओली, रवि लामिछाने जिन्दावाद भन्नेहरूले नै प्रचण्ड मुर्दावाद भनिरहेका थिए ! वर्तमान व्यवस्था ल्याउनुमा प्रचण्डको ठूलो भूमिका छ । केपी ओली र रवि लामिछानेलाई प्रचण्डसँग जोड्दा पनि उनीमाथि अन्याय हुन्छ । पछिल्लो समय लोकतान्त्रिक व्यवस्थालाई असफल बनाउनका निम्ति यथास्थितिवादी, प्रतिगामी शक्तिका मतियाहरू जोडबलले लागि परेका छन् । संविधान र लोकतन्त्र विरोधितत्वहरू प्रचण्डमाथि खनिनुलाई अन्यथा मान्नुपर्ने कारण छैन । तर, अनावश्यक विरोध र आलोचनाले लोकतन्त्रलाई बलियो बनाउँदैन । यस्ता अराजक गतिविधिमाथि नियमन र नियन्त्रण आवश्यक छ । प्रधानमन्त्रीमाथिको अनाश्वयक प्रहार संविधान, लोकतन्त्र र परिवर्तनमाथिको प्रहार हो । अनावश्यक र गतल स्थानमा आफ्नो देशको पधानमन्त्रीविरूद्ध नाराबाजी गर्दा विश्वसामु नेपाल र नेपाहरूको शीर कति उचो हुन्छ? यस्ता कुराहरूको पनि हेक्का राख्नुपर्छ ।

२.सच्चिन नसकेको राजनीति

एकात्मक राज्य व्यवस्था फालेर ल्याएको लोकतन्त्रिक शासन व्यवस्था परिस्कृत हुन नसकेको सत्य हो । राजसंस्था फालेपनि राजकीय प्रवृत्तिको अन्त्य गर्न सकिएको छैन । मुलुकबाट राजा फालियो । तर, राजकीय प्रवृत्ति फाल्न सकिएको छैन । भलै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले अगुवा र पछुवा बिना यात्रा गर्न थालेको कुराले सकारात्मक सन्देश प्रवाह भने गरेको छ । औलामा गनिने काम बाहेक, वर्तमान राजनीतिक नेतृत्व ठूलो जडतामा निर्भर छ । अझँ खुलेर भन्ने हो भने स्वार्थी छ । घमण्डी छ । पाखण्ड छ । समयानुकल हिड्न सक्दैन । युवा पुस्तालाई राजनीतिमा आउन दिदैन । सत्य कुरा बोल्नेलाई भन्दा पनि खुट्टा मोल्नेहरूलाई असल कार्यकर्ता देख्छ । पटकपटक मुलुकको नेतृत्वमा पुगेर पनि शीर्ष नेताहरूले खासै उपलब्धि हासिल गर्न नसकेको पनि सत्य हो । क्रिकेटतर्फ नेपाली खेलाडिहरू विश्वकपको यात्रा तय गर्दासम्म पनि एउटा गतिलो क्रिकेट रंगशाला निर्माण नगर्नु लाजमर्दो कुरा हो । यसकाप्रतिको आलोचना र विरोध स्वभाभिक छ ।

लामो आन्दोलन, क्रान्ति र संघर्षपछि संविधान बनेको कुरालाई नकार्न मिल्दैन । राष्ट्र निर्माणको अभियान सञ्चालन भएकै छैन । जसको निम्ति संविधान कार्यान्वयन र जनताको सहभागिता पहिलो सर्त हो । उक्त सर्तलाई पूरा गर्न असल र सफल नेतृत्व चाहिन्छ । सचेत र कर्तव्यवान जनता हुनुपर्छ । भनिन्छ, ‘नेता हरेक आन्दोलनले जन्माउँछ । तर, नेतृत्व युगले जन्माउँछ ।’ नेतृत्व युगको माग हो । नेता समयको माग हो । राजनीति परिस्थितिको उपज हो । राजनीतिमा आन्दोलन भइरहन्छन् । आजको आवश्यक आन्दोलन भनेको रूपान्तरणकारी आन्दोलन हो । असल र सफल नेतृत्वले रूपान्तरणकारी अभियानको नेतृत्व गर्न सक्छ । असल र सफल नेतृत्वले असल र सफल पार्टी निर्माण गर्न सक्छ । समाजलाई लयमा हिडाउन सक्छ । सहि नेतृत्व दिनसक्छ । समाजलाई नयाँ विचार दिनसक्छ । नयाँ पुस्ता र पुराना पुस्तालाई मिलाएर लैजान सक्छ । अझँ जोडले भन्ने हो भने, नेता÷नेतृत्वहरूको आफ्नो—पराई कोही हुँदैन । नेतृत्व देश र जनताको सुख र दुःख साझा र आधाआधा महसुस गर्छ । जसले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर सत्य बोल्न सक्छ । गतललाई गलत भन्ने आँट गर्छ । मुलुकको संविधान, पार्टीको विचार, सिद्धान्त, नीति र विधिको शासनबारे अविचलित हुन्छ । जब नेतृत्वमा पुगेकाहरू विवादित बन्छन् । आलोचित बन्छन् त्यो बेला लोकतन्त्रमाथि संगीन प्रहार हुन्छ । अनाश्वयक विरोध र आलोचना बढि हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, नेता कार्यकर्ता, सरकारी कर्मचारीहरूले आफ्नो कर्तव्य र अधिकारको सहि सदुपयोग गर्न नसक्दा लोकतन्त्रिक व्यवस्थामाथि प्रहार हुन थाल्छ । सच्चिने कि सक्किने ? राजनीतिकर्मीका सामु उभिएको यो यक्ष प्रश्न हो ।

३.परिणाममूखि जनता

जनताहरू विचार, सिद्धान्तभन्दा पनि परिणाममूखि बन्दै गएको देखिन्छ । उपभोक्तावादी बजार चेतनाबाट नेपाली समाज अछुतो देखिन्न । राजनीतिप्रतिको वितृष्णाको कारण यो पनि एक हो । नयाँ पुस्ता डेलिभरि चाहान्छ । रोजगारी चाहान्छ । सेवा सुविधामूखि छ । सार्वजनिक संस्थानहरूको सेवा सरल, सर्वसुलभ, छिटो, छरितो, भरपर्दो र गुणस्तरी होस् भन्ने चाहान्छ । साथै उक्त चाहाना राख्नेहरूको बीचमा घुसेर केही त्यस्तो अराजक र असंवेदनशील जमात छ, जसलाई राजनीतिक संघर्ष, आन्दोलन र इतिहासप्रतिको वास्ता र ज्ञान छैन । वर्तमान व्यवस्थालाई कमजोर बनाउन उनीहरू परिचालित छ । जेसुकै भएपनि नयाँ पुस्ताले राजनीतिप्रतिको ज्ञान र चासो नराख्नु भविष्यका निम्ति खतराको संकत हो । राजनीतिप्रतिको अनावश्यक वितृष्णा, असन्तुष्टि र आलोचनाले भोलिका दिनमा निम्त्याउने सम्भावित युद्ध र प्रतियुद्धबारे ध्यान जान जरूरी छ ।

अन्त्यमा, मानव जीवनसँग जोडिएका विषयहरूको क्रमवद्ध अध्ययन नै राजनीतिशास्त्र हो । सरकार र संविधान राजनीतिकशास्त्रका मुख्य विषय हुन् । जनताहरू यि दुई विषयमा सकारात्मक सन्तुष्ट छैनन् भने लोकतन्त्रको रक्षा र विकास हुन सक्दैन । यस्तोबेला आसाहरू निराशामा परिणत हुन सक्छन् । लोकतान्त्रिक व्यवस्थामाथि आवश्यक÷अनाश्वयक बढ्दो वितृष्णाले उचित परिणाम निस्कदैन । बरू, गृहयुद्ध, आर्थिक संटक, अभाव, भोकमरी, दमन, हमला, बिदेशी हस्तक्षेप निम्त्याउन सक्छ । हाम्रो जस्तो संवेदनशील देशमा जसरी राजनीति, नेता र वर्तमान व्यवस्थामाथि सुनियोजित रूपमा प्रहार भइरहेको छ । यसलाई कुनै हिसाबले पनि राम्रो मान्न सकिन्न । सुनियोजित निराशा, षडयन्त्र र ब्यवस्थामाथिको प्रहारका बारेमा समयमै सचेत नहुने भने सिर्जित परिस्थिति भयानक हुन सक्छ ।

(७ चैत २०७९ दृष्टि राष्ट्रिय साप्ताहिकमा प्रकाशित)