साफ महिला च्याम्पियनसिप: नेपाल र भारतबीचको पहिलो खेल आज



काठमाडौं। बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ।

नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ।

यसअघि यू-१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ। आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ। च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ। सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

नेपालको लक्ष्य उपाधि

मुख्य प्रशिक्षक भगवती रानाले नेपालको तयारी राम्रो रहेको र उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताइन्। ‘हामीले राम्रो तयारी गरेका छौँ । जसरी पनि च्याम्पियन हुने नै लक्ष्य छ। सबै म्याच जितेर अंक तालिकामा शीर्ष स्थानमा रहने लक्ष्य छ,’ भगवतीले ढाका प्रस्थान गर्नुअघि अनलाइनखबरसँग भनिन्, ‘हामी डिफेन्डिङ च्याम्पियन भएकोले पनि झन् धेरै चुनौती छ । त्यसैले पनि हरेक खेल जित्नुपर्ने हुन्छ ।’

च्याम्पियनसिपमा यसपटक युरोपियन टिम रुस पनि सहभागी छ । त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती भने पक्कै छ ।

‘रुससँग पनि खेल्ने अवसर छ ।नयाँ टिम हो ।हामीले युरोपको टिमसँग खेल्ने अनभुव पनि पाउनेछौं । रुससँग मात्र नभएर सबै खेल महत्वपूर्ण छन् र कठिन हुनेछ । तर हामी सबै क्षेत्रमा तयार छौँ र राम्रो खेल्नेछौँ । हामी फाइट गर्न सक्छौँ भनेर मोटिभेट छौँ,’ उनले थपिन् ।

यसअघि नोभेम्बरमा भएको साफ यू-१५ मा नेपाल बंगलादेश र भुटान मात्र सहभागि थियो । जसमा डबल राउण्ड रोविन लिगका आधारमा खेल भएको थियो र नेपाल धेरै अंक जोड्दै च्याम्पियन बनेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो । नोभेम्बरमा साफ यू-१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार