स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई लिएर वीपी कोइराला भन्ने गर्थे, ‘विद्यार्थीहरूको मूल पवृत्ति परिवर्तन हो ।’ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले राजनीतिमा नयाँ वहसको सिर्जना गरेको छ । आगामी चैत ३, ५ र ८ गते त्रिविले निर्वाचन सम्पन्न गर्नेगरी आफ्ना गतिविधि अघि बढाइ रहेको छ । विद्यार्थी आन्दोलन, स्ववियु स्थापना र यसको ऐतिहासिक पक्षलाई नजरअन्दाज गर्दा इतिहासमाथिको धोका हुन्छ । किन भने नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको ठूलो भूमिका छ । ३० वर्षे पञ्चायति कालरात्रीमा यिनै विद्यार्थी संगठनले राजनीति जोगाएका थिए ।
त्रिचन्द्र क्याम्पस काठमाडौँमा अध्ययनरत गंगालाल श्रेष्ठलगायतका युवा विद्यार्थीहरूले वि.स.१९९३ सालदेखि जहाँनिया राणा शासनविरूद्ध राजनीतिक अभियान सञ्चालन गरेका थिए । आन्दोलन सुरू गरेकै कारण वि.स.१९९७ मा विद्यार्थी नेता गंगालालसहित चारजना योद्धाहरूलाई राणाहरूले फाँसी दिएका थिए । सङगठित रूपमा नेपाली विद्यार्थीहरूले २००४ सालमा जयतु सँस्कृतमको आन्दोलन गरेका थिए । यो आन्दोलन हुँदासम्म नेपालमा विद्यार्थी सङगठनको स्थापना औपचारिक रूपमा भइसकेको थिएन । गंगालालको सहादत र यही आन्दोलनको ऊर्जाबाट प्रेरित भई २००६ सालमा अखिल नेपाल विद्यार्थी ‘फेडेरेसन’ को स्थापना भएको थियो । २००४ सालको जयतु सँस्कृतमको आन्दोलनदेखि आजसम्म आउँदा नेपाली विद्यार्थी आन्दोलनले करिब सात दशक आफ्नो यात्रालाई जारी राखेको छ । २००७, २०३६, २०४६, २०५२ देखि २०६२/२०६३ सालको दोस्रो जनआन्दोलनहरूमा विद्यार्थी मोर्चा अग्रभागमा उभिएको इतिहास साक्षि छ । वि.स.२०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । दलहरूले खुला राजनीति गर्न नपाउने अवस्था आयो । त्यस्तो कठिन र संगीन समयमा चेतनाको विगुल फुकेर जनताको मुक्तिका निम्ति विद्यार्थी संगठनहरूले क्रान्तिकारी जिम्मेवारी पूरा गरेका थिए । विद्यार्थी आन्दोलनकै भरमा पञ्चायतविरूद्ध जनता सचेत बनेको कुरा लुकाउन मिल्दैन । वि.स.२०२१ सालमा सुजन खरेलको नेतृत्वमा बिष्णुमती नदिको किनारमा पुष्पलालले नेतृत्व गरेको नेकपा निकट अनेरास्ववियुको स्थापना भयो । अनेरास्ववियुकै नेतृत्वमा भएको आन्दोलनको कारण नेपाली विद्यार्थीहरूको साझा संस्था स्ववियुको स्थापना वि.स.२०२२ सालमा भएको थियो ।
कुनै पनि देशको विकास र समृद्धि त्यस देशको शिक्षा नीतिमा निर्भर रहन्छ । शिक्षा नीतिले विकास र समृद्धिको क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको हुन्छ । किसानको समस्या विद्यार्थीले, व्यपारीको समस्या शिक्षकले, श्रमिकको समस्या किसानले बुझ्न सक्दैन । मतलव विद्यार्थीहरूका समस्याहरू के हुन् ? नारी विद्यार्थीका समस्या के हुन् ? ति समस्याहरू कसरी समाधान गर्न सकिन्छन् ? क्याम्पसका छात्राबासको अवस्था के छ ? क्याम्पस प्रशासन र स्ववियुबीचको सम्बन्ध कस्तो हुनुपर्छ ? क्याम्पस प्रशासन कत्तिको पारदर्शी र भरपर्दो छ ? आर्थिक, भौतिक संरचनाको अवस्था के छ ? यि सबै सवालहरूको बारेमा विद्यार्थीहरूले मात्र बुझ्न सक्छन् । त्यसैले शिक्षाको नाममा हुने विकृतिको अन्त्य गर्न, संविधानले लक्षित गरेको शिक्षा नीति कार्यान्वयन गर्न, विद्यार्थी मैत्री, अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्न, गलत क्रियाकलापका विरूद्ध सतिसालझै उभिन र शैक्षिक क्षेत्रका गलत रबैयाका विरूद्ध खबरदारी गर्नका निम्ति स्ववियु सक्रिय हुँदै आएको इतिहास छ ।
स्ववियु के हो ?
स्ववियुका बारेमा विभिन्न बुझाईहरू छन् । यसको गरिमाप्रति विद्यार्थी आन्दोलन इमान्दार बन्नुपर्छ । विद्यार्थी आन्दोलन विगतको समिक्षा गर्दै अघि बढ्नपर्छ । विगतबाट पाठ सिक्दै स्ववियुलाई विद्यार्थी र क्याम्पस प्रशासनबीचको सेतुको रूपमा विकास गनुपर्छ । साथै आज संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको छ । परिवर्तन विरोधी प्रतिगामी गतिविधिलाई निश्तेज पार्दै विद्यार्थी आन्दोलनलाई रचनात्मक बनाउने जिम्मेवारी पनि स्ववियुकै हो । स्ववियुलाई विशुद्ध विद्यार्थीहरूका समस्याको पहिचान गर्ने, क्याम्पसको आर्थिक, भौतिक, प्रशासनिक सुधारका निम्ति पशासनसँग सहकार्य तथा सहयोग गर्ने, विद्यार्थी मैत्री, शैक्षिक मैत्री वातावरण निर्माणका निम्ति अहोरात्र लागिपर्ने भरिलो र दरिलो संस्थाका रूपमा विकास गर्नुपर्छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको हकहितको रक्षाका निम्ति गठित संस्था हो । स्ववियु आम विद्यार्थीहरूको मागको सम्बोधनका निम्ति क्याम्पस प्रशासनलाई घचघचाउने विद्यार्थीहरूको साझा संस्था हो । विद्यार्थीको विपक्षमा क्याम्पस प्रशासनले गर्ने गलत निर्णयलाई सप्रमाण विद्यार्थी माझ पुर्याउने काम स्ववियुको हुन्छ । स्ववियुको महत्व र भुमिकाका सम्बन्धमा कुरा गर्नुपर्दा विद्यार्थी आन्दोलनलाई छोड्न सकिन्न । किनभने लामो समयको विद्यार्थी आन्दोलनको ऐतिहासिक उप्लब्धि हो स्ववियु निर्वाचन ।
स्ववियु के होइन ?
दुःखका साथ स्ववियुको गौरव र औचित्यमाथि उठेका केही सार्वजनिक सवालहरूलाई स्मरण गर्न सकिन्छ । यतिलामो इतिहास र गौरवगाथा बोकेको स्ववियु मुर्झायो भनिँदैछ । भ्रष्ट भयो भनिँदैछ । कसका कारण स्ववियु बदनाम भयो ? कसका कारण स्ववियुले विद्यार्थीहरूका समस्या सुन्न, बुझ्न र सम्बोधन गर्न सकेन ? विद्यार्थीहरूका समस्याभन्दा स्ववियुको नेतृत्वमा पुगेका नेता र विद्यार्थी संगठनहरूले आफ्नो स्वार्थलाई प्रधान ठान्दाको परिणाम हो भन्न कुनै असहज मान्नुपर्ने अवस्था छैन । क्याम्पस प्रशासनसँग मिलेर अनैतिक काम गर्नेहरू को हुन् ? स्ववियू सभापतिको हैसियतमा क्याम्पस हाताभित्र र बाहिर रहेर आर्थिक अपचलन गर्ने को हुन् ? सभापति बनेर सहरमा घर जग्गा जोड्ने को हुन् ? चल्पल लगाएर क्याम्पस छिरेकाहरूले घर जग्गा जोड्ने सम्पत्ति कहाँबाट प्राप्त गरे ? अब यस्ता प्रश्नहरूबाट स्ववियुलाई मुक्त गर्नेबेला भयो । के स्ववियू यस्तै हुन्छ ? यहाँ आन्दोलन हुन्छ, लेनदेन हन्छ । लेनदेन मिलाउने गरिन्छ । आन्दोलन सार्वजनिक सरोकारको विषय हो । तर, स्ववियु आन्दोलन फगत विद्यार्थी संगठनका नेताहरूको स्वार्थ केन्द्रीत बन्छ । स्ववियुको मर्म, भावना र औचित्य यो होइन ।
जब क्याम्पस प्रशासनसँग लेनदेनको कुरा मिल्दैन त्यसपछि ताला लगाउने काम गरिन्छ । के स्ववियुको काम यहि हो ? होइन । कुरा मिलेपछि ताला खोल्ने, नत्र नखोल्ने ? यो स्ववियुको काम हो ? होइन । यस्ता कार्यहरू जो कसैबाट हिजोका दिनमा भए/सकिए । आयिन्दा यस्ता गतिविधि हुन नदिनका निम्ति विद्यार्थी नेताहरूको इमान्दार प्रयास रहनुपर्छ । विचार, सिद्धान्त र सामूहिक हितभन्दा पर पुगेर स्ववियुलाई नितान्त व्यक्तिगत भलाइका क्रियाकलापमा प्रयोग गर्ने प्रवृत्तिका कारण स्ववियु बदनाम बनेको हो । त्यतिमात्रै होइन, सिँगो विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठेको हो । हिजोको विद्यार्थी आन्दोलन राजनीतिक परिवर्तनको सहयात्री बनेको थियो । आजको विद्यार्थी आन्दोलनले विगतको त्यो गरिमा, ओझ र इतिहासलाई जोगाउनु त कता हो कता, उल्टै बदनाम र विवादित बनिरहेको छ । पछिल्लो समय स्ववियुको औचित्यमाथि तमाम प्रश्न खडा भएका छन् । विद्यार्थी आन्दोलन कमजोर बनेको, विद्यार्थी आन्दोलन मुर्झाएको र सुस्ताएको खालका निराश अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण नगर्ने विद्यार्थी नेता हुन सक्दैनन् ।
स्ववियु र विद्यार्थी आन्दोलनलाई पुर्नताजकी गर्न पहल नगर्ने नेताहरूले भोलिका दिनमा देशको नेतृत्व कसरी गर्लान् ? टायर बाल्ने, चर्को भाषण गर्ने, अरूलाई गालि गर्ने, कमिसनमा रमाउने, हिँसात्मक गतिविधि गर्ने, गुण्डागर्दी गर्ने, भागबण्डा गर्ने संस्था स्ववियु होइन । स्ववियु युवाहरूको राजनीतिक आस्था, भरोशा र भविष्य बोकेको गौरवशाली संस्था हो । अघिल्लो पुस्ताले लडेर ल्याएको समाजवादी व्यवस्थालाई संस्थागत गर्ने मुख्य जिम्मेवारी युवा पुस्ताको हो । खासगरी स्ववियु राजनीतिक क्षेत्रको नर्सरी हो । जो सुक्दै गएकोछ । जो मुर्झाएको देखिन्छ । जो अस्ताउन खोजेको देखिन्छ । अब विद्यार्थी नेताहरूले यतातिर ध्यान दिन ढिलो गर्नु हुँदैन ।
२०७९ फागुन ३० गते दृष्टि साप्ताहिकमा प्रकाशित