काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै गर्दा देशभरका क्याम्पसहरूमा उत्साहभन्दा विवाद बढी देखिएको छ।
देशका अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता नै हुन सकेको छैन। उम्मेदवारी दर्ता भएका क्याम्पसमा पनि अस्वस्थ र अराजनीतिक वातावरण देखिएको छ। खासगरी राजनीतिक दलहरूको स्वार्थसँग जोडिएर हेरिएका कारण पनि स्ववियु निर्वाचन विवादरहित बन्न नसकेको विद्यार्थी नेताहरू बताउँछन्।
युवाहरूको राजनीतिक आस्था र भविष्य बोकेकाे स्ववियुको ओझ, गरिमा र इतिहासलाई बचाउन नसक्ने अवस्थामा पुगेका विद्यार्थी संगठनहरू पनि खासै जिम्मेवार देखिँदैनन्। उपत्यकाभित्रका अधिकांश ठूला क्याम्पसहरूमा ताला लगाएको देखिन्छ। त्यस्तै अधिकाशं विद्यार्थी संगठनहरूले त उम्मेदार नै छान्न सकेका छैनन्।
हरेक २ वर्षको अन्तरालमा हुनुपर्ने स्ववियु निर्वाचन विगत ६ वर्षदेखि हुन सकेको छैन। कुनै कुनै क्याम्पसमा त स्ववियु निर्वाचन नभएको दशकौ भइसक्यो। एकातिर स्ववियु मुर्झाउँदो अवस्थामा छ भने अर्कोतर्फ विश्वविद्यालयहरूमा विद्यार्थीहरूको संख्या दिनप्रतिदिन घट्दो क्रममा छन् । विदेश जान सक्नेहरू जति पलायन भइरहेका छन्। खर्बौ रूपैया शिक्षाको नाममा बिदेश गइरहेको छ।
स-साना विवादमा रमाउने, अराजक बन्ने, दादागिरी गर्ने खालका अराजनीतिक कामहरूमा विद्यार्थी नेताहरू संलग्न देखिन्छन्। शिक्षा नीति कार्यान्वयनबाट चुक्दै र विद्यार्थीका समस्याबाट भाग्दै गएको विद्यार्थी आन्दोलनलाई मर्यादित बनाउन विद्यार्थी नेताहरू चुकिरहेको विद्यार्थीहरू बताछन्। यसै सन्दर्भमा हामीले स्ववियु निर्वाचन उत्साहभन्दा विवाद बढी किन ? भनेर केही विद्यार्थी नेताहरूलाई सोधेका छौं:
स्ववियुलाई उत्साहकै रूपमा लिनुपर्छ: सचिव हमाल
अखिल (क्रान्तिकारी ) की केन्द्रीय सचिव तथा कर्णाली प्रदेशकी इन्चार्ज तिर्सना हमाल स्ववियु निर्वाचनलाई उत्साहकै रूपमा लिनुपर्ने बताउछिन् । उनले भनिन्,‘स्ववियु निर्वाचनलाई विवाद र निराशाभन्दा पनि उत्साहकै रूपमा लिनुपर्छ। स्ववियुको समयमै निवार्चन नहुनुमा विद्यार्थी संगठनहरूको मात्रै हात रहँदैन। प्रशासनमा रहेको राजनीतिकरण मुख्य दोषी देखिन्छ। केही हदसम्म विद्यार्थी संगठनहरूको स्वार्थ पनि जोडिएर आउँछ। आफ्नो अनुकुलतामा परिणाम आउने छ भने स्ववियुमा सहज तरिकाले भाग लिने नभए तालाबन्दि गर्ने काम पनि भइरहेका छन्। पार्टी मुखि बनाउन खोज्ने काम भएका छन्। यस्ता कार्यहरूले केही विवादीत देखाएपनि खासमा स्ववियु निर्वाचनलाई उत्साहकै रूपमा लिनुपर्छ।’
अभिभावकका रूपमा रहेका राजनीतिक दलहरूको स्ववियु निर्वाचन र विद्यार्थी संगठनहरूमाथिको अतिरिक्त हस्तक्षेपलाई कसरी लिनुहुन्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा हमालले भनिन्,‘अखिल क्रान्तिकारीको हकमा यो कुरा लागू हुँदैन। कामका हिसाबले विद्यार्थी संगठन प्रतिपक्ष शक्ति हो। विद्यार्थीका हकहित र अधिकारका लागि लड्ने उसको काम हो। दलले आफूले चाहेको पात्र वा व्यक्तिको बारेमा चिन्ता राख्नुलाई अतिरिक्त हस्तक्षेप नै नभन्ने कि?’
स्ववियु निर्वाचन समयमा नहुँदा उत्साह घट्यो: जगत बिष्ट
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता जगतङ्ग बिष्टले समयमै स्ववियु निर्वाचन नहुँदा यसकाप्रतिको आकर्षण घटेको दाबी गरेका छन्।
उनले भने, ‘पहिलो कुरा त त्रिविले स्ववियुको निर्वाचन समयमा सम्पन्न गर्दैन। दोस्रो कुरा- स्ववियुको ओझ, इतिहास र गौरवकाप्रति पछिल्लो पुस्ताको इमान्दारीमाथिको प्रश्न हो। तेस्रो कुरा- विद्यार्थी संगठनहरूका अरानीतिक गतिविधिहरूका कारण स्ववियुप्रतिको उत्साह आकर्षण घटेको मान्न सकिन्छ।’
उनले अगाडि भने, ‘हामीले विद्यार्थीका हकहितभन्दा पनि आफ्नो हितलाई ध्यानमा राखिरहेका छौं। विश्वविद्यालयको हातभित्र अराजकता, गुण्डाराज जमाउन चाहान्छौं। दादागिरि जमाउन खोज्छौं अनि सकरी यसकाप्रतिको आकर्षढा बढ्छ? त्यसका कारण हामीले वैचारिक, सैद्धान्तिक र शैक्षिक तथा राजनीतिक मुद्धालाई केन्द्रभागमा राख्नुपर्यो। यसको गरिमा, ओझ र इतिहासलाई सम्मान गर्नुपर्यो। आन्दोलनप्रतिको इमान्दारितालाई कायम राख्नुपर्यो। समयमै स्ववियु निर्वाचन हुनुपर्यो। राजनीतिक दलहरुको भरिया संगठन होइन, प्रतिपक्ष शक्तिका रुपमा पुनः स्थापित गराउनुपर्यो। अनि मात्रै स्ववियुप्रति आकर्षण बढ्छ।’
विद्यार्थी संगठनहरूकै कारण स्ववियु विवादीत बन्यो: नेता भण्डारी
त्यस्तै नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पस काठमाडौँका स्ववियु सभापतिका उम्मेदार मदन भण्डारीले भने फरक मत राखेका छन्।
नेता भण्डारीले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेविसंघको पराजित मानसिकताका कारण स्ववियुप्रतिको उत्साह घटेको बताए।
उनले भने, ‘स्ववियु निर्वाचनलाई नियमित रूपमा सम्पन्न हुन नदिने, आफ्नो पक्षमा परिणाम आउने क्याम्पसमा निर्वाध र अनेरास्ववियु जित्ने ठाउँमा विवाद झिक्ने काम भइरहेका छन्। अरूभन्दा पनि विद्यार्थी संगठनहरूकै कारण स्ववियु विवादित बनेको हो।’