काठमाडौँ। रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच सामान्य झडप भएको छ।
एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियूका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गर्न खोजेपछि झडप भएको बुझिएको छ।
अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको दाबी गरेपनि कुनै पनि विद्यार्थी नेताहरू घाइते नभएको नेविसंघका नेता अनुराग शाहले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।
खड्काले राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएको दाबी गरेका थिए। खड्काले समाजवादी विद्यार्थी यूनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको समेत दाबी गरेका छन्। ‘सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं भरका गुण्डाहरु बोलाएर आक्रमण गर्न खोजियो, निर्वाचन बिथोल्न खोजियो,’ खड्काले भने।
झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ। आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले जनाएको छ। झडपपछि प्रदर्शनीमार्ग क्षेत्रमा यातायात आजजाउमा रोक लगाइएको छ।