काठमाडौँ। चिनियाँ संसदले सी जिन्पिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ। शुक्रबार नेसनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको हो।
तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएसँगै सी चिनफिङलाई तत्काल चीनको अर्थतन्त्र उकास्ने चुनौती देखिएको छ।लगातार तीन वर्षदेखि कोभिड महामारीका कारण लगाइएको प्रतिबन्ध, घरजग्गा क्षेत्रको समस्या र अमेरिकासँग बढ्दो तनावका कारण चिनियाँ अर्थतन्त्र अहिले तुलनात्मक कमजोर अवस्थामा छ।
गत आइतबार मात्र चीनले सन् २०२३ का लागि आर्थिक वृद्धिदर लक्ष्य ५ प्रतिशतमा सीमित गरेको छ। यो लगभग तीन दशककै सबभन्दा कम भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसअघि सन् २०२२ मा चीनले ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। वास्तविक वृद्धि भने लक्ष्यभन्दा कम ३ प्रतिशत मात्र भयो।
अमेरिकासँगको सम्बन्ध जटिल बन्दै गएकाले पनि चीनले आर्थिक वृद्धिको प्रक्षेपण घटाएको हो। कोभिड महामारीका कारण बन्द रहेको व्यापार व्यवसाय खुला हुँदै गए पनि अमेरिकासँगको जटिल सम्बन्धकै कारण चीनले आर्थिक वृद्धिदर प्रक्षेपणमा सर्तकता अपनाएको विश्लेषकहरू बताउँछन्।
‘योभन्दा विपरीत परिस्थिति सामना गर्नुपर्ने बुझेरै चीन सरकारले वृद्धिदरको लक्ष्य कम राखेको देखिन्छ,’ मुडिज इन्भेस्टर्स सर्भिसका उपाध्यक्ष मार्टिन पेट्चले भने, ‘स्थानीय सरकारको ऋण, घरजग्गा क्षेत्रमा देखिएको जोखिम र चीनको निर्यातमा आएको सुस्त वृद्धिले चीनका लागि सहज परिस्थिति अझै आइसकेको छैन।’
सी चिनफिङ पहिलोपटक राष्ट्रपतिका रूपमा चुनिएसँगै चीनको आर्थिक वृद्धि बढ्दै जानुको एउटा मुख्य कारण घरजग्गा क्षेत्रमा आएको उल्लेखनीय वृद्धि थियो। तर पछिल्लो समय यो क्षेत्र समस्यामा छ। त्यस्तै सन् २०२२ मा चीनको सहरी क्षेत्रमा बेरोजगार युवाहरूको संख्या २० प्रतिशत बढेको छ।
चीनलाई पहिलेजस्तो उच्च आर्थिक वृद्धि हासिल गर्न आइपर्ने यी चुनौतीका कारण सी चिनफिङले आगामी दिनमा सरकारी नियन्त्रण खुकुलो बनाउँदै लैजाने र भूराजनीतिक तनाव कम गर्नेतर्फ कदम चाल्ने अपेक्षा आन्तरिक तथा बाह्य लगानीकर्ताहरूले गरिरहेका छन्।
सी चिनफिङले भने अमेरिकाले चिनियाँ कम्पनीहरूलाई लगाएको प्रतिबन्धविरूद्ध कदम चाल्ने संकेत गरिसकेका छन्। रूस र युक्रेनबीचको युद्धमा चीनले रूसलाई सहयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ।
त्यस्तै, चीनमा रहेको वर्गीय खाडल सम्बोधन गर्न ‘कमन प्रोस्परिटी’ कार्यक्रमको पनि उनले आह्वान गर्दै आएका छन्। यसले निजी क्षेत्र झन् दुविधाको अवस्थामा रहेको बताइन्छ। तर चीनले घरेलु बजारबाटै आर्थिक वृद्धि हासिल गर्नुपर्ने अवस्था रहेको कतिपय विश्लेषकको भनाइ छ।
चीन सरकारको उच्च प्रशासनिक पद (प्रिमियर) मा ली क्युआङ आउने लगभग निश्चित भएसँगै कतिपयले निजी क्षेत्रको मनोविज्ञान उकासिने अपेक्षा गरिरहेका छन्।
(एजेन्सीको सहयोगमा)