शीर्ष नेतालाई पौडेलद्वारा धन्यवाद ज्ञापन



काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीर्ष नेताहरूलाई भेटर धन्यवाद व्यक्त गरेका छन्।

बिहिबार मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। बिहिबार साँझ राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई धन्यवाद व्यक्त गरेको र प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसैगरी राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन्। राष्ट्रपति पौडेलले देउवा निवास धुम्बाराही र नेपाल निवास कोटेश्वर पुगेर भेट गरेका हुन्।

पत्निसहित कोटेश्वर पुगेका पौडेलले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्न अध्यक्ष नेपालको भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। ‘मलाई राष्ट्रपतिमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्नुभयो। त्यसका लागि धन्यवाद छ,’ पौडेलको भनाइलाई उद्धृत गर्दै नेपालको सचिवालयले भनेको छ, ‘तपाईंले खेल्नुभएको भूमिका व्यक्तिगत रुपमा सधैं सम्झिने छु।’

भेटमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको पनि सहभागिता रहेको थियो। खड्काले राष्ट्रपति निर्वाचनसम्म एउटा अध्याय सकिएको बताएका थिए। एउटा अध्याय सकियो। मैले आफ्नो भूमिका निर्वाह गरेँ। बाँकी नेताहरुको जिम्मा हो, खड्काले भेटमा भने। खड्का प्रचण्डको नेतृत्वको सरकारमा कांग्रेसतर्फ नेतृत्व गर्न चाहना राख्दै आएका छन्। पौडेल, नेपाल र खड्काबीचको भेट करिब ४५ मिनेट चलेको थियो।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल आज राष्ट्रपतिमा निर्वाचित भएका हुन्। बिहिबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए।