काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन्।
उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम छ। त्यहाँ उनले पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने छन्। राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ।
पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ। सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ।
त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन्।
निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ। त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ।
२८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय गरिने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाले जानकारी दिए।
संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन्। अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन्। त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवीलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवासमा पुर्याइने छ।