यस्तो छ रामचन्द्र पौडेलको संघर्षपूर्ण राजनीतिक यात्रा



काठमाडौँ। गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राष्ट्रपतिको चौथो कार्यकालका लागि बिहीबार संसद्‍मा भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भएका हुन्। एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ । जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे ।  उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमोर्चा, नेसपा र आम जनता पार्टी पौडेललाई खुलेर समर्थन गरेका थिए।

बिहीबार मतदानअघि बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पनि पौडेलको पक्षमा उभियो। नेम्वाङलाई भने एमाले बाहेकका दलको साथ पाएको देखिएन।

को हुन् रामचन्द्र पौडेल ?

२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा तनहुँको व्यास नगरपालिका– ८ स्थिति मिलुङ, बाहुन पोखरामा जन्मिएका हुन् । सवितासँग विवाह गरेका पौडेलका चार छोरी ‘शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा’ तथा एक छोरा ‘चिन्तन पौडेल’ छन् । व्यास नगरपालिका–८ बेलथुम्कीका स्थायी बासिन्दा पौडेल हाल काठमाडौँ महानगरपालिका– १६ बोहोराटारमा बस्छन्।

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । पौडेल २०१५ सालदेखि विद्यार्थी सङ्गठनको राजनीतिमा जोडिए । २०१५ देखि ०२४ को समयमा उनी नन्दीरात्री माविको विद्यार्थी सङ्घको अध्यक्ष र रानीपोखरी मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बने।

यो बीचमा पौडेललाई २०१७ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको महासचिव र २०२३ गण्डकी छात्र सङ्घको संस्थापक अध्यक्ष बन्ने अवसर पनि मिल्यो । सोही समयमा सरस्वती क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा सङ्घको संस्थापक महासचिव बने ।

२०२७ सालमा नेपाल विद्यार्थी सङ्घ ९नेविसंघ० गठनमा महत्त्वपूर्ण भूमिका खेलेका उनी सङ्घको संस्थापक सदस्य पनि भए । १९ वर्षको विद्यार्थी राजनीतिपछि मात्र जिल्ला तहबाट पार्टी राजनीतिमा पौडेलको प्रवेश भएको थियो । २०३४ नेपाली कांग्रेस तनहुँको सदस्य भएका उनी ०३६ मा जिल्ला उपसभापति भएका हुन् ।

पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुखका रूपमा २०४० सालमा पौडेल पार्टी केन्द्रीय राजनीतिमा आए । २०४३ मा कांग्रेस केन्द्रीय सदस्य बनेका उनी ९२०६२–०६४० दुई वर्ष पार्टीको महामन्त्री भए । त्यसपछि उनी ०७२ सम्म पार्टी उपसभापतिको जिम्मेवारी रहे । सोही समयमा पौडेल कांग्रेस संसदीय दलको नेता पनि थिए । ०७२ सालमा भएको पार्टीको १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए । यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा रहे ।

गत वर्षसम्म १४ औँ महाधिवेशनमा प्रतिस्पर्धाबाट ‘रिङआट’ भए पनि वरिष्ठ नेतामा पौडेलको निरन्तरता कायमै भयो । १४ औँ महाधिवेशनमा आफ्नो गुट छिन्नभिन्न हुने देखेपछि उनी अन्तिम समयमा मौन बसेको विषयले काङ्ग्रेसभित्र तरङ्ग समेत उत्पन्न भएको थियो । जसको परिणामस्वरूप देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सहज बनेको थियो ।

६३ वर्ष लामो राजनीतिक जीवनमा पौडेलले करिब १५ वर्ष जेलमा बिताए । २०१८ देखि २०६२ सम्म विभिन्न अवधिमा गरी १५ वर्ष जेलमा उनको बन्दी जीवन व्यतीत भयो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ–२ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख बने ।

०५६ सालमा तनहुँ–२ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भएका पौडेलले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए ।

०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पौडेल तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । तर, प्रधानमन्त्री बन्ने पौडेलको उत्कट चाहना १७ पटकको प्रयासमा पनि असफल रह्यो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्‍मा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।

आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्किए भने पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी शृङ्खलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरिएको थियो । त्यसपछि खनालले प्रधानमन्त्रीमा बाजी गर्दा पौडेलको हातमा लाग्यो असफलता । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँपटक निर्वाचित भएका पौडेलले ०७४ को आम निर्वाचनमा तनहुँ – १ मा हार चाखे । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा भने पौडेलले तनहुँ–१ बाट संसदीय निर्वाचनमा छैटौँ जित दर्ता गरे । लामो र अथक राजनीतिक सक्रियता पौडेलको प्रमुख पुँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक सङ्घर्षहरूमा संलग्न पौडेलले पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरेको देखिन्छ । काङ्ग्रेसभित्र नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने नेताका रूपमा लिइन्छन्, उनी ।

पटक–पटक मन्त्री हुँदासमेत कुनै गम्भीर विवादमा नमुछिएका पौडेलको नेपाली राजनीतिमा इमानदार र निष्कलङ्क छवि छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सक्रिय राजनीतिबाट बिदा भएका छन् । अब संविधानको कसीमा बसेर राष्ट्रपतिको भूमिकामा विवादरहित भएर बिदा हुने चुनौती पौडेलमाथि छ ।