काठमाडौँ। नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफूलाई नै सहयोग गरेको बताएका छन्।
पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको स्पष्ट पारेका हुन्। बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानको अक्षरशःभावनालाई इमानदारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएका हुन्। उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताए।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो। संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु। गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरा म सचेत छु। सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु।’