सेभियाका गोलकिपरमाथि समर्थकको आक्रमण



काठमाडौँ। युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका छन्।

पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ले पराजित हुँदै बाहिरियो। पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा दुई गोल फर्काएपनि पीएसभीको संकट टरेन।

३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर पन्च हाने। सर्बियाली किपरले कुस्ती नै लड्नुपरेको थियो। खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए।

सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डिमिट्रोभिचले फुटबलमा यस्तो घटना राम्रो नभएको खेलपछि दी एथ्लेटिकसँग बताएका छन्। उनले भनेका छन्, ‘फुटबलमा यो देख्नु कहिल्यै राम्रो हुँदैन। यो हुनु हुन्थेन र अबदेखि, म आशा गर्दछु कि यिनीहरूलाई राम्रो सजाय हुनेछ। उनले पछाडिमबाट आएर मलाई धकेले। उनी सायद नतिजालाई लिएर रिसाएका थिए। उनले मलाई हिर्काउन खोजे। मैले उनलाई समात्न सफल भएँ र सेक्युरिटी आइपुग्दासम्म पर्खिएँ।’

सेभियाका प्रशिक्षक जर्ज साम्पाओलीले यो अविश्वसनीय रूपमा दुःखको कुरा भएको बताए। उनले आफूलाई चिन्ता लागेको भन्दै यस्ता प्रकारको घटना रोक्न आवश्यक रहेको बताए।