सर्वसाधारणका लागि आत्मनिर्भर लघुवित्तको आइपिओ खुला



काठमाडौँ। सर्वसाधारणका लागि आत्मनिर्भर लघुवित्तको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गरेको हो।

सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको छ।  यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले बताएको छ।

बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर भने सर्वसाधारणमा वितरण गरेको हो। यो आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू साथै ‘मेरो सेयर’बाट पनि आवेदन दिन सक्नेछन्।