राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ: सांसद शाही



काठमाडौँ। सांसद महेन्द्र बहादुर शाहीले राष्ट्रिय सहमतिका आधारमा मुलुकलाई अघि बढाउनुपर्ने समय आएको बताएका छन्।

बुधबार संसदमा बोल्दै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका सांसद शाहीले सुशासन, विकास, समृद्धि, सामाजिक न्यायका निम्ति राष्ट्रिय सहमति जुटाएर अघि बढ्नुपर्ने बेला आएको बताएका हुन्।

उनले भने, ‘संविधानको कार्यान्वयनका निम्ति राष्ट्रिय एकताको आवश्यकता छ। संविधान कार्यान्वयन नभएका कारण जनतामा असन्तुष्टि बढि रहेका छन्। संघ, प्रदेश र स्थानीय तहको सरकार छ। तर, संघीय कानून नबन्दा जनतामा थप निराशा बढेका छन्।

प्रदेश सरकारले केन्द्रको मुख ताक्न पर्ने अवस्था छ। प्रहरी केन्द्रकै नेतृत्वमा छ। त्यस्तै कर्मचारी नियुक्ति गर्ने काम भएको छैन। संघका सचिव र प्रदेशका मन्त्रीबीच काम गर्ने तादात्म्यता मिलेको छैन। प्रदेश र स्थानीय सरकार केन्द्रको अनुदानमा निर्भर छन्।

संविधानले व्यवस्था गरेअनुरुपको संघीय कानून, ऐन बनाउन पर्छ। संसद चलेको धेरै भइसक्यो। आजका दिनसम्म पनि आफ्नो पार्टीको विचार राख्ने सभाका रुपमा संसद चलिरहेको छ। विकास र समृद्धिका निम्ति काम गर्ने बेला हो। सडक, बाटो, बिजुली जस्ता विषयमा ध्यान दिनुपर्छ। आर्थिक समृद्धिको नारा लगाएर मात्रै हुँदैन। त्यसको समृद्धिको स्रोत र साधन के हो? त्यसको खोजि आजको आवश्यकता हो। युवाहरूलाई स्वदेशमै काम उपलब्ध गर्नुपर्छ।’

उनले अगाडि भनेका छन्, ‘यदि हामीले सहि समयमा उचित काम गर्न सकेनौं भने अर्को चुनावमा सक्रिय कार्यकर्ता मात्रै आज हामी प्रधानमन्त्री र राष्ट्रपति कसलाई बनाउने भन्ने सत्ताको खेलमा छौं। सबैको जित हुनेगरी अघि बढ्नुपर्छ।’