काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो।
यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ। राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन्।
तीन संघीय सांसद रबी लामिछाने, अरुण चौधरी र टेकबहादुर गुरुङको नाम समावेश गरिएको छैन। फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम भने मतदाता सूचीमा छ।
प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ। सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यहि फागुन २८ गते सकिँदैछ।