सुर्खेत। दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको कार्य सुरु भएको छ।
चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया सोमबारदेखि अघि बढेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले केही दिन अघि कर्णाली सन्दशसँगको कुराकानिमा आफूहरुको एउटै लक्ष्य राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पतालको निर्माण कार्य अघि बढाउनु रहेको बताएका थिए।
डा. रावलले आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइने दाबी गरेका छन्। उनले हालै जडान भएको अक्सिजन प्लान्ट सोमबार उद्घाटन गरिएको पनि जानकारी दिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबिस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो।
राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ। कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिए। रावलका अनुसार अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ।
त्यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए। राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको मन्त्री शाहको भनाई छ।
शिक्षण अस्पताल निर्माणका लागि आठबिस नगरपालिका–३ मा ४० रोपनी (२ हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए। अस्पताल निर्माणको लागि डीपीआर बनिसकेको छ। अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समितिसमेत गठन भइसकेको छ।
नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ। विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाएको छ। अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसिजी ल्याबसहित अस्पताल फार्मेसी चलाइरहेको छ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतको उपस्थितिमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो।