काठमाडौँ। रुस–युक्रेन युद्धको वर्ष दिन पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले सुटुक्क युक्रेनको भ्रमण गरेका छन् ।
बाइडेन पोल्याण्डबाट रेल चढेर शनिबार युक्रनको राजधानी किभ पुगेर फर्किसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पोहोर २४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसयति अमेरिकी राष्ट्रपतिको यो पहिलो युक्रेन भ्रमण हो ।
अमेरिकाले बाइडेनको युक्रेन भ्रमणको तयारी धेरै पहिलादेखि नै गरिरहेको थियो । तर गत शुक्रबार मात्र निर्णय भएको हो । सुरक्षाका कारण भ्रमण गोप्य राखिएको थियो ।
भ्रमण पूरा भएपछि अमेरिकाले यसबारेमा रुसलाई पनि जानकारी दिइसकेको ह्वाइट हाउसले जनाएको छ । बाइडेनको भ्रमणले युक्रेनी नागरिक र सेनाको मनोबल बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ, ‘आइतबार राति ह्वाइट हाउसले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार राष्ट्रपति सोमबार ह्वाइट हाउसमा हुनेछन् र बेलुकी बार्सा प्रस्थान गर्ने छन्, तर बाइडेनले बार्सा जानुअघि नै आफ्नो आधा यात्रा पूरा गरिसकेका छन् ।’
पूर्वघोषित कार्यक्रम अनुसार बाइडेनको ३ दिने पोल्याण्ड भ्रमण सोमबार राति सुरु हुँदै छ र उनी मंगलबार बिहान बार्सा पुग्ने छन् । पोल्याण्डमा समकक्षी एन्द्रेज दुदासँग उनले युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने छन् ।
अमेरिकाले युक्रेनलाई अहिलेसम्म ३० अर्ब डलर बराबरको सहयोग गरेको छ ।