अनेरास्ववियुको केन्द्रीय सदस्यमा विहानी विजयी



काठमाडौँ। नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशन सम्पन्न भएको छ। संगठनको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन्। २३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गत शुक्रबार भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन्।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो। संगठनको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्। सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन्।

अत्यधिक मत बिहानी पंगेनीलाई

संगठनको केन्द्रीय सदस्यमा नेता विहानी पंगेनीले अत्यधिक मत पाएकी छन्। निर्वाचनमा १५१७ मत खसेको थियो। विहानीले ११०२ मत प्राप्त गरेकी छन्। लोकप्रिय गायक बद्री पंगेनीकी छोरीसमेत रहेकी पंगेनी बाल्यकालदेखि नै राजनीतिमा सक्रिय छिन।

सम्भवत: अनेरास्ववियुको २३औं महाधिवेशनको सबैभन्दा कान्छि उम्मेदार उनै विहानी हुन्। पूर्वाञ्चल विश्वविद्यालयमा कानून विषय (बीए एलएल बी) पढ्दै गरेकी विहानीको लक्ष्य नै राजनीति गर्ने हो।

उनले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा भनिन्, ‘समाज परिवर्तनका लागि, रूपान्तरणका निम्ति राजनीतिमा क्रियाशिल रहनेछु। २३औं महाधिवेशनमा मलाई अत्यधिक मत दिएर विजयी गराउनु हुने सम्पूर्ण प्रतिनिधि साथीहरुलाई धन्यवाद।’ विश्वविद्यायलबाट ६ जनाको कोटामा थियो। जसलमा ९ जना नेताहरूले प्रतिष्पर्धा गरेका थिए।