मेरो माइक्रोफाइनान्सका सिइओ रामहरी दाहाल किन भाग्दैछन् प्रश्नबाट?



काठमाडौँ। यतिबेला मेरो माइक्रोफाइनान्समा आवद्ध एकजना कर्मचारी आफूमाथि अन्याय भएको भन्दै न्यायको लागि भौतारिरहेका छा्।

अछाम स्थायी घर भएका कर्मचारी नविन शाहलाई माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले मानसिक सन्तुलन गुमाएको भन्दै निराधार आरोप लगाएपछि शाह अन्यायमा परेका हुन्। त्यति मात्रै होइन, उक्त फाइनान्सले शाहलाई स्पष्टिकरण सोध्नेदेखि निलम्बनसम्म गरेको छ।

मानसिक सन्तुलन ठिक नभएको निराधार आरोप लगाएपछि विवादमा तानिएका मेरो माइक्रोफाइनान्सका प्रमुख दाहालको पदिय दायित्वमाथि प्रश्न उठेको छ। विदा मागेको र सामाजिक सञ्जालमा लेखेकै आधारमा कर्मचारीलाई मानसिक सन्तुलन गुमाएको भन्दै प्रहरीमा पत्र काटेको खबर अर्थ सरोकारले सार्वजनिक गरेको थियो।

दर्ता गाउँमा काम काज काठमाडौँमा

तीन खम्बे अर्थनीति अंगालेको नेपाल दिन प्रतिदिन आर्थिक संकटमा फस्दै गहिरहेको छ। उदार तथा खुल्ला अर्थ बजारका कारण देशमा धनी झन् धनि र गरिब झन गरिब हुँदै गएको तथ्य जगजाहेर छ। सरकारी, नीजि र सहकारी गरी तीन खम्बे अर्थनीतिले देश र जनताको जीवनस्तर माथि उठाउने भन्दा पनि ऋणको भारी बोकाएर तनावको जिन्दगी बाँच्न बाँध्य बनाइरहेका छन्। मुलुक विदेशी ऋणबाट थिलथिलो हुँदैछ भने जनताहरू लघुवित्त, सहकारी र बैंकहरुको ऋणबाट आत्मदाह गर्न बाध्य छन्।

खासगरी बैंक, लघुवित्त र सहकारीहरुले देशको अर्थतन्त्रलाई गतिशिल बनाउने काम गर्दछन्। यति महत्वपूर्ण दायित्व बोकेका यि संस्थाहरुमा कार्यरत कर्मचारीहरुको अवस्था नाजुक छ। बिहानदेखि बेलुकासम्म श्रम शोषण गरिरहेका सहकारी र लघुवित्तहरुले रोजगार र्सिजना गरेको दाबी गर्छन्। तर, यि संस्थाहरूका बचतकर्ताहरू माथिको अत्याचार सुनि नसक्नुको छ। ग्रामीण बस्तिको अर्थतन्त्र सुधार्ने नारा बोकेका सहरकारी र लघुवित्तहरुको दर्ता गाउँमा भएपनि सहरमा भव्य कार्यालय छन्।

उदाहरणका निम्ति मेरोफाइनान्सलाई लिन सकिन्छ। उक्त फाइनान्सको दर्ता नुवाकोट छ। तर, उक्त फाइनान्सको काठमाडौँको चावहिल चौकमा भव्य कार्यालय छ। लिफ्टको सुविधा भएको कार्यालय छ। संस्थामा आवद्ध उच्चपदस्थदेखि सामान्य कर्मचारीहरुको नुनपानिदेखि महल निमार्ण गर्ने भनेका बचतकर्ता, ऋणदाता हुन्। कर्मचारी हुन्। तर, संस्था सचालकहरू मोटाउने र अरुलाई मर्न बाध्यपार्ने, पागल करार गर्ने, संस्था छोड्न बाध्यपार्ने, मानवता नदेखाउने खालका व्यवहारहरु गर्दै आएका समाचारहरु यत्रतत्र आएको पाइन्छ। मेरो फाइनान्सले साधारण कर्जा सदस्य र बचत कर्तालाई मोबाइल बैकिंङको सुविधा दिएको छ। प्रविधिको विकास र उपयोगका दृष्टिकोणबाट हेर्दा र सुन्दा सामान्य लागे पनि अधिकांश ग्रामिण इलाकाका मानिसहरुलाई मोबाइल बैंकिङ सेवा थप आर्थिक भार बाहेक अरु केही हुन सक्दैन।

न्युज २४ को सिधा कुरा जनतासँगमा पुगेर पीडित शाहले वास्तविक कथा सार्वजनिक गरेका थिए। हेर्नुहोस् न्युज २४ ले प्रकाशित गरेको सामग्री:

‘हाम्रो देशमा सरकारले भूमिहिनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दै जान्छ। बैंक तथा लघुवित्तहरुले जनताको घरखेत लिलाम गरेर नयाँ सुकुम्बासी बनाउँदै जान्छन्। केही लघुवित्तको आतंकले मानिसहरु वस्ती नै खाली गरेर भागेका उदाहरण पनि छन्। अहिलेको प्रशंग छ मेरो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको। यी दाहालले ठिक अवस्थाका आफ्ना एक कर्मचारी पागल भएको भन्दै प्रहरीमा पत्र पठाएका छन्। आफ्नै कर्मचारीलाई पागल बनाउने माइक्रो फाइनान्सले जनतालाई कतिसम्म गरेको होला रु छोराको उपचारका लागि मेरो माइक्रो फाइनान्सका कर्मचारी नविन कुमार साहले बिदा मागेका थिए। तर, सिइओ दाहालले ती कर्मचारीको मानसिक सन्तुलन ठिक नभएको भन्दै प्रहरीमा पत्र बुझाएको मामिला बाहिरिएको छ।

मेरो माइक्रो फाइनान्सका यी कर्मचारीले मानसिक सन्तुलन गुमाएको पुष्टि आजसम्म कुनै चिकित्सकले गरेका छैनन्। तर, माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले दृश्यमा देखिएका नविनकुमार साहको मानसिक सन्तुलन ठिक नभएको भन्दै प्रहरीमा पत्र नै पठाइदिए। सामान्य अवस्थाका साहको दिमागी हालत ठिक नभएको भनेर घोषणा गर्दै सिइओ दाहालले प्रहरीमा पत्र पठाएपछि तनाव झेलिरहेका साह सिधाकुरा जनतासँगको सम्पर्कमा आएका छन्। नुवाकोटको विदुरमा केन्द्रीय कार्यालय भएको मेरो माइक्रो फाइनान्सको कृष्णपुर कञ्चनपुर शाखाका प्रबन्धक हुन् नविन। तर, यिनै शाखा प्रबन्धक साहले ‘धम्कीपूर्ण स्पष्टिकरण पेश गरेको’ भन्दै मेरो माइक्रो फाइनान्सले मानिसक सन्तुलन ठिक नभएको देखिन आएको उल्लेख गरेको छ।

आफैं कार्यरत रहेको संस्थाले प्रहरीमा समेत मानसिक सन्तुलन गुमाएको भनेर पत्राचार गरेपछि साह विभिन्न निकाय धाए र अहिले आफू अन्यायमा परेको भन्दै सिधाकुराको सम्पर्कमा आएका छन्। उनले छोराको उपचारका लागि मागेको विदा संस्थाले स्वीकृत नगरेको र बाध्य भएर विदाको निवेदन बुझाएर उपचारका लागि गएको दावी गरेका छन्। साहको भनाइअनुसार विदा स्वीकृत नभएकै कारण बिरामी छोराको उपचार नगर्न सम्भव थिएन। उनले विदाको निवेदन दिए। छोराको उपचार गराएर काममा फर्किए। वर्षमा एकपटक लिएको बिदामा संस्थाले स्वीकृत गर्नुको सट्टा उल्टो यातना दिँदै स्पष्टिकरण मागेको पीडित कर्मचारीको भनाइ छ।

मेरो माइक्रो फाइनान्सले श्रम शोषण गरेको, ओभरटाइमको ज्याला नदिएको जस्ता आरोप पनि लगाएका छन्। मेरो माइक्रो फाइनान्सले माग २३ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई ‘जानकारी लिई सहयोग गरिदिने सम्बन्धमा’ विषयक पत्रमा साहले आत्महत्या गरिदिने धम्की दिएको उल्लेख छ। साहले त्यस्तो निर्णय लिइ हालेनमा दुरुत्साहन मुद्दाबाट जोगिन सकियोस् भन्ने अभिप्रयाले मेरो माइक्रो फाइनान्सले प्रहरीलाई पत्र लेखेको देखिन्छ।

माइक्रो फाइनान्सको दावीअनुसार माघ ९ देखि १३ गतेसम्म पाँच दिन साह विदामा बसेका थिए। साहले छोरा बिरामी भएर उपचारका लागि गएको भन्ने दावी गरे पनि माइक्रो फाइनान्सले विना स्वीकृति चार दिन गएल भएपछि उनलाई स्पष्टिकरण माग गरिएको जनाएको छ।संस्थालाई साहले बुझाएको स्पष्टिकरणमा भनिएको छ, ‘निश्वार्थ काम गर्ने कर्मचारीलाई अप्ठ्यारोमा पारी संस्थाले कारबाही गर्छ भने भोलिका दिनमा मबाट अप्रिय घटना भएमा मेरो शरिरको तथा मबाट आश्रित मेरो परिवारको समेत यसै संस्थाले सम्पूर्ण जिम्मेवारी लिनु पर्नेछ।’

साहको स्पष्टिकरणमा धम्की दिइएको उल्लेख गर्दै मेरो माइक्रो फाइनान्सले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिँदै साहबाट कुनै घटना भएमा त्यसको जवाफदेही आफूहरु हुन नसक्ने भनेर कानुनी औपचारिकता पूरा गरेको देखिन्छ। मेरो माइक्रो फाइनान्सले प्रहरी कार्यालयमा बुझाएको पत्रमा ‘निज साहबाट जस्तो सुकै घटना पनि घट्न र घटाउन सक्ने प्रवल सम्भावना र आशंका देखिएकोले सो कुरालाई मध्येनजर राखी निज नविन कुमार साहबाट भविष्यमा हुन सक्ने घटनाको वित्तिय संस्था जवाफदेही हुन नसक्ने व्यहोराको जानकारी लिई सहयोग गरी पाउन यो निवेदन पेश गरेको छु।’ भनिएको छ। पत्रमा संस्थाका प्रमुख कारीकारी अधिकृत रामहरि दाहालले हस्ताक्षर गरेका छन्। सो पत्रसँगै कृष्णपुर शाखालाई साहको सात दिनको चालचलन बुझेर लिखित जानकारी गराउन बोधार्थ दिइएको पनि छ।’

सार्वजनिक विषय बनेपछि उक्त फाइनान्सका कार्यकारी अधिकृत हादाललाई फोन गरेर यस विषयका बारेमा आधिकारिकता बुझ्न खोजेका थियौं। तर, उनले फोन उठाएनन्। कुनै आधिकारिक स्वास्थ्य निकायको पुष्टिविना कसैलाई मानसिक रोगी करार गर्न पाइन्छ? कर्मचारीको संवेदनशिलता नबुझ्ने कस्तो मालिक ? नुवाकोटमा दर्ता भएको संस्थाको कार्यालय काठमाडौँमा किन? कुनै पनि लघुवित्तको सिइओको रुपमा १० वर्ष काम गर्न पाईन्छ ? तपाईले यो संस्थामा जागिर खाएको कति भयो? जस्ता प्रश्नको जवाफ खोज्ने हाम्रो प्रयास सफल भएन। तर, हामी निरन्तर रुपमा यस विषयका बारेमा फ्लोअप गरिरहनेछौं।