काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन्।
उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा.किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।
सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका हुन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ।