काठमाडौँ। नेकपा एमाले निकट अनेरास्ववियुका सचिवालय सदस्य धुपेन्द्र शाहीले संगठनको केन्दीय सचिव पदका लागि उम्मेदारी दिएका छन्।
काठमाडौँमा जारी संगठनको २३औं महाधिवेशनमा सचिव पदका लागि उम्मेदारी दर्ता गराएकाे बताए। शाहीले अनेरास्ववियुको इतिहासलाई रक्षा र थप मजबुत बनाउनका निम्ति सचिव पदका निम्ति आफूले उम्मेदवार दर्ता गराएको कर्णाली सन्देशलाई जानकारी दिएका छन्।
नयाँ नेतृत्व चयनका लागि सहमतिका लागि भएका प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । आज दिउँसो १ बजेदेखि नै निर्वाचन प्रक्रियाको कार्यतालिका थियो । तर, सहमतिका लागि नेताहरुले समय माग गरेपछि निर्वाचन कमिटीले कार्यतालिका अनुसार अगाडि बढ्न सकेको थिएन।
निर्वाचन प्रक्रिया अगाडि बढेसँगै अहिले मनोनयन दर्ताको प्रक्रिया चलेको छ। अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। जसमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विक (महेन्द्र) रहेका छन्। त्यस्तै अन्य पदका लागि मनोनयन दर्ता गराउने प्रक्रिया जारी छ।
मनोनयनको काम सकिएपछि दाबी विरोधको समय दिइनेछ । उम्मेदवारहरुमाथि उजुरी गर्नको लागि समय दिइनेछ। त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ।
भोलि बिहान ९ बजेदेखि मतदानको समय तोकिएको छ। आफ्नो मनोनयन दर्ता गराएसँगै उम्मदेवारहरुले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका छन्। आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै उनीहरुले आफुलाई भोट दिन अपिल गर्न थालेका हुन्। फागुन २ गतेदेखि सुरु भएको अनेरास्ववियुको २३औं महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिनेछ। त्यस्तै विभिन्न तीनवटा आयोगका पदाधिकारीहरु समेत निर्वाचित गरिनेछ।