काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद् फेरि पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनिरहेको बताएका छन्।
उनले राष्ट्रपतिको निर्वाचन नजिकिँदा देशको अभिभावक र संविधानको संरक्षक चयन गर्ने भन्दा पनि ‘रबरस्ट्याम्प राष्ट्रपति’ बनाउने चाहना छताछुल्ल भइरहेको बताए।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद पौडेलले संसद्मा शीर्ष नेताहरूको प्रस्तुति हेरेर आशा गर्ने ठाउँ गर्ने नरहेको बताए। ‘संसद् आमआशाको केन्द्र बन्न सकेको छैन। देश समस्यै समस्याले ग्रस्त छ। तर त्यसलाई समाधान गर्ने सन्दर्भमा संसद् प्रभावकारी हुन सकेको छैन,’ उनले भने, ‘आज संसद्को उपस्थितिले पनि संसद्लाई प्रभावकारी बनाउन खासै जाँगर नभएको छर्लङ्ग हुन्छ।’
सांसद् पौडेलले संसद्को रोष्टममा उभिएर संसद् विघटनको महिनागान गर्ने प्रवृत्तिले फेरि पनि संसद् असुरक्षित रहेको महसुस भइरहेको बताए । ‘अहिले पनि संसद् विघटनलाई महिनागान गर्ने काम रोकिएको छैन। तर बास्तवमा संसद् विघटन कायरता थियो, त्यो कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्न खोजिएको छ,’ पौडेलले अघि भने, ‘तर म चुनौती दिन चाहन्छु, अब कायरता दोहोर्याउन पाइँदैन। संसद्को रोस्ट्रममै उभिएर संसद्लाई पार्टीको कानुन विभाग भएजसरी लत्याउन खोजिएको छ, यो उपयुक्त होइन।’
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्रीकोरुपमा संसद्मा फुर्ती देखाएको टिप्पणी गरे। ‘सबैले प्रस्ट बुझे हुन्छ, अहंकारले देश बन्दैन, हाम्रो पूर्वप्रधानमन्त्रीले हिजो प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर फुर्ती प्रस्तुत गर्नुभएको थियो, तर आज किन त्यो सुस्त छ? किन बालकोट र बालुवाटारको दौडधुप बढेको छ?,’ पौडेलले प्रश्न गरेका छन्।
उनले कांग्रेसले राष्ट्रपतिको निर्वाचनबाट देशको अभिभावक र संविधानको संरक्षक चुन्नका लागि सबै कोसिस गर्ने बताए। ‘हामीलाई थाहा छ, अहिले कसैकसैलाई राष्ट्रपति होइन, रबरस्ट्याम्प राष्टपति चाहिएको छ। तर, नेपाली कांग्रेसले त्यस्तो हुन दिँदैन,’ उनले भने, ‘संवैधानिक मर्यादाका रक्षा गर्नका लागि देशको अभिभावक राष्ट्रपति हो। संविधानका मान्यताहरू अक्षुण्ण राख्न दत्तचित्त व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेसले सबै कोसिस गर्छ।’ उनले कांग्रेसले मुलुकलाई अस्थिरतातिर लैजाने र संविधानमाथि खतरा पैदा हुने गरी कुनै पनि काम नगर्ने दाबी गरे।