‘एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ’



पोखरा। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति चयन गर्दा देशलाई प्रतिगामी दिशामा जान नदिने बताएका छन्।

नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट समेत सुरु भएको बताए। पोखरामा समाजवादी प्रेस सङ्गठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिलाई आफ्नो पार्टीले पनि सघाउने सङ्केत गरे।

‘देशलाई प्रतिगामी दिशामा दिँदैनौँ, राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ। हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन,’ नेपालले भने। नेपालले देश प्रतिगमनको दिशातर्फको यात्रामा लागेको पनि सङ्केत गरे। ‘सत्ता गठबन्धनको किचलो सुरु भइसकेको छ। हामी सबैले सङ्केत पाइसकेका छौँ। अब हामी सतर्क बन्नुपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताएका छन्। त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वान समेत गरेका छन्।

कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं। अब हामी सतर्क बनौं। प्रतिगमनको पक्षमा कोको रु अग्रगमनको पक्षमा उभिने कोको रु अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं।’ राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले सो धारणा राखेका हुन्।

नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे। ‘खिचडी गठबन्धन’को संज्ञा दिंदै उनले भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन।’ परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको पनि नभएको उनले बताए।

एक अर्को प्रसंगमा उनले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए। ‘अरु पार्टीलेजस्तो हारे पनि जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने। साथै अध्यक्ष नेपालले नेकपा एमालेको राष्ट्रपति भए देश बर्बाद हुने जिकीरसमेत गरेका छन्।