वीरेन्द्रनगर तनावग्रस्त



सुर्खेत। आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दालोन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त बनेको छ।

आन्दालेनकारीले विभिन्न चोकमा टायर बालिरहेका छन् भने यातायातका साधन चल्न सकिरहेका छैनन्। आइतबार दिउँसो जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । उक्त घटनालाई लिएर आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्।

आन्दोलनका क्रममा एक जना पत्रकार घाइते भएका छन्। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडपमा स्थानीय पत्रकार बलबहादुर थापा घाइते भएका हुन् । बसपार्क समितिका युवाहरुले उनको टाउकोमा काँचको बोतलले हानेका थिए।

पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दालेनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए। तर उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि युवाहरुले उनीमाथि आक्रमण गरेका हुन् । उनलाई आक्रमण गर्ने युवाको परिचय भने खुलेको छैन।

पत्रकार थापाको उपचार स्थानीय माया नर्सिङ होममा भइरहेको छ । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार आन्दोलनलाई साम्य पार्नका लागि २३० जना प्रहरीलाई तैनाथ गरिएको छ।