काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवस अब राष्ट्रकै सम्पत्ति भएको बताएका छन्।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा २८औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विद्यमान परिवर्तन ल्याउनमा जनयुद्धको ठूलो भूमिका रहेको बताए। उनले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताए।
प्चण्डले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे। उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए। उनले भने, ‘यस पटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु । हामीलाई असफल हुने बिलकुलै छुट छैन।’
उनले अगाडि भने, हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ । यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठिक ढंगले कार्यान्वयन गर्न सकिन्छ । केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरू भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताकासाथ अघि बढ्नुको कुनै विकल्प छैन । मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो मन्त्रीपरिषद्बाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पत्ति भयो । आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठिक ढंगले निभाउने जिम्मेवारी हाम्रै हो । यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ।’