२८औं जनयुद्ध दिवसमा विप्लवले भने, ‘विजय जनताकै हुनेछ’



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वामपन्थी देशभक्त एक भएर दलाल पूँजिवादको अन्त्य गर्नुपर्ने बताएका छन्।

२८औं जनयुद्ध दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व भएको दावी गरेका छन्।

‘जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो। किसान, मजदुर, महिला श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुश्लिम सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्यो र एकस्तरको मुक्ति दिलायो। हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतिर अगाडि बदन चाहन्थ्यौं तर भूमण्डलीकृत पूँजीवाद, दलाल पूँजीवाद र संशोधनवादा पहयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन’,विप्लवले भनेका छन्।

त्यस्तै उनले देशले आज भयानक संकटको समाना गर्नु परिरहेको भन्दै यसको मूल कारण जनताको हातमा सत्ता पुग्न नसक्नु अर्थात वैज्ञानिक समाजवाद स्थापना हुन नसकेकाले हो भनेका छन्। ‘देशको कंगालीकरण, नवऔपनिवेशिक अवस्था र अराजकता अग्रगामी निकास पनि दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्नु हो। तसर्थ सम्पूर्ण कम्युनिस्ट, बामपन्थी, प्रगतिशील, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरु एक भएर देशलाई परिवर्तनतिर अगाडि बढाउन एकताबद्ध बनौं’, महासचिव विप्लवको आह्न छ।

उनले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमार्फत देशलाई निकास दिन सकिने भन्दै सबै क्रान्तिकारीहरुलाई एकताबद्ध गर्दै विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन्। ‘नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभुत्व र उत्पीडनबाट मुक्त गराई छोडिने छ। पुँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने छ’, विप्लवको भनाइ छ।