काठमाडौँ। सिरियाको उत्तर पश्चिम इलाकामा भूकम्पले ध्वस्त पारेको एक घरको भग्नावशेषमा जन्मिएकी बालिकालाई धर्मपुत्रीको रूपमा स्वीकार गर्न हजारौँ मानिसले प्रस्ताव राखेका छन्।
टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्की र नजिकैको सिरियामा हालसम्म २१ हजारभन्दा बढीको मृत्यु भएको छ । यहाँ द्रुत राहत र उद्धार कार्य जारी रहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ।
दुवै देशमा पीडा, शोक र आशङ्काको बादल छाइरहेको छ। प्रकोप प्रभावित क्षेत्रबाट पनि केही यस्ता कथा बाहिर आइरहेका छन् जुन पत्याउनै गाह्रो छ। यी शिशुको कहानी पनि अपत्यारिलो नै छ।
शिशुको नाम राखियो, ‘अया’
भग्नावशेषमा जन्मिएकी यी बालिकाको नाम अया राखिएको छ। अरबीमा, अया शब्दको अर्थ करिश्मा हो। जब यो शिशुलाई भग्नावशेषबाट बाहिर निकालियो, उनी आमाको नाभिमै जोडिएकी थिइन्। भूकम्पका कारण अयाकी आमा, बुबा र चारै दाजुभाइको मृत्यु भएको छ । अया अहिले अस्पतालमा छिन् ।
अयाको हेरचाह गरिरहेकी डाक्टर हानी मारुफ भन्छिन्, ‘सोमबार यहाँ आइपुग्दा उनको अवस्था निकै नाजुक थियो । उनको शरीरमा धेरै ठाउँ सुन्निएको थियो र घाउहरू थिए । उनको शरीरको तापक्रम पनि निकै कम थियो र उनलाई सास फेर्न गाह्रो थियो ।’ अहिले ती बालिकाको अवस्था सामान्य रहेको बताइएको छ।
उद्धारकर्ताहरूले अयालाई उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यस भिडियोमा एक व्यक्ति धुलोले छोपिएकी नवजात शिशुलाई भग्नावशेषबाट बाहिर निकाल्ने बित्तिकै दौडिरहेको देखिन्छन् । यसपछि यी बालिकाका टाढाका नातेदार खलील अल–सुवादीले उनलाई सिरियाली सहर अफ्रिनस्थित डा। मारुफकहाँ लगे ।
त्यसयता हजारौँले सामाजिक सञ्जालमा शिशुलाई धर्मपुत्री बनाउने इच्छा व्यक्त गरेका छन् । एक जनाले लेखेका छन्, ‘म यो शिशुलाई धर्मपुत्रीको रूपमा ग्रहण गरेर राम्रो जीवन दिन चाहन्छु ।’ एक कुवेती टिभी एन्करले भनेकी छिन्, ‘कानुनले अनुमति दिन्छ भने म यी शिशुलाई धर्मपुत्री बनाउन र उनको हेरचाह गर्न तयार छु ।’
अस्पतालले अस्वीकार गर्यो
अस्पतालका प्रबन्धक खालिद अत्तियाले आफूलाई संसारभरिबाट बेबी अयालाई धर्मपुत्रीको रूपमा ग्रहण गर्न दर्जनौँ फोन आएको बताएका छन् । डा. आतियाकी छोरी अया भन्दा चार महिना मात्र जेठी छिन् ।
उनी भन्छन्, ‘अहिलेका लागि म कसैलाई पनि उनलाई धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन्न । टाढाका आफन्त नआएसम्म आफ्नै छोरीले जस्तै हेरचाह गरिरहेको छु ।’
अहिले डा.आतियाकी श्रीमतीले पनि छोरीसँगै अयालाई दूध खुवाइरहेकी छिन् । अर्कोतर्फ, अयाको गृह नगर जिन्दयारिसमा उद्धार कार्य जारी छ ।
त्यहाँका एक स्थानीय पत्रकार मोहम्मद अल–अदनानले बीबीसीलाई भने, ‘त्यहाँ जताततै विनाश भएको छ । त्यहाँ अझै पनि धेरै व्यक्तिहरू भग्नावशेषमुनि दबिएका छन् । र धेरै मानिसहरू अझै पनि भग्नावशेषबाट बाहिर निकालिएका छैनन् ।’
अल–अदनानको अनुमान अनुसार भूकम्पमा सहरको ९० प्रतिशत पूर्ण रूपमा ध्वस्त भएको र हालसम्म गरिएको उद्धार कार्य स्थानीय जनताले मात्र गरेका हुन् ।
भग्नावशेषबाट मानिसहरूलाई बचाउन अनुभवी ह्वाइट हेल्मेटका उद्धारकर्ताहरूले यहाँ उद्धार कार्य सञ्चालन गरिरहेका छन् । मोहम्मद अल–कमाल लेख्छन्, ‘भवनहरूको अस्थिरताका कारण उद्धारकर्मीहरू पनि भग्नावशेषमुनि फसेका हुन सक्छन् । हामीले तीन वटा शवहरू भग्नावशेषबाट निकालेका छौँ । हामीलाई लाग्छ कि एउटा परिवार अझै पनि भित्र जीवित छ । हामी हाम्रो प्रयास जारी राख्नेछौँ । ’
सिरियामा भूकम्पपछि तीन हजारभन्दा बढीको मृत्यु भएको समाचार छ । यद्यपि विद्रोही नियन्त्रित क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या कति हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।