ठूला पार्टीको वैकल्पिक शक्ति हाम्रो पार्टी बन्यो: नेता पाण्डे



काठमाडौँ। विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन्।

शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परिणामस्वरूप आज मुख्य मानिएका दलहरू बाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे। उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहित छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए।

उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए। नेता पाण्डेले आफ्नो पार्टीले सुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरूसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए।