एमालेमा प्रवेश गरेका श्रीपाली के गर्दैछन् ?



काठमाडौँ। गत निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गर्नेहरुको संख्या बढ्दो देखिन्थ्यो। गत मंसिर ४ गते सम्पन्न चुनावमा पूर्व माओवादी नेता प्रभु साहले एमाले छाडेर नयाँ दल निर्माण गरे। साहको नेतृत्वमा आजपा निर्माण भयो।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यमलाल कँडेल भन्छन्, ‘हजारौं नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। वहाँहरुको व्यवस्थापन गर्ने काम चलिरहेको छ। खासगरी योग्यता, क्षमतालाई दृष्टिगत गरेर ती नेता कार्यकर्ताहरुको व्यवस्थापन हुन्छ। जुन कार्यमा पार्टी गम्भीरताका साथ लागि रहेको छ।’

नेता कँडेलका अनुसार गत निर्वाचन अघि र पछि एमालेप्रति जनआकर्षण बढिरहेको छ। ती नेता कार्यकर्ताहरूको व्यवस्थापनको कार्य तीव्र गतिमा भइरहेको छ।

त्यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य, कर्णाली प्रदेशका सह-इन्चार्ज तथा सल्यानका इन्चार्ज गुलावजंग शाहले सबै तह र तप्काबाट एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई उचित जिम्मेवारी प्रदान गरिने बताएका छन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानिमा शाहले भने, ‘साथीहरूको पूर्व पार्टीमा रहेको मर्यादा क्रमलाई ध्यान दिएर व्यवस्थापन हुन्छ। विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरूको व्यवस्थापनको कार्या अघि बढिरहेको छ।’

नेता कँडेल र शाहको प्रतिक्रियापछि हामीले जसपा त्यागेर एमोलेमा फर्किएका सल्यानका तिलक श्रीपाइलीलाई फोन सम्पर्क गरेर वर्तमान अवस्थाका बारेमा बुझ्ने कोसिस गरेका छौं।

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा पार्टीमा बलियो पहुँच भएका युवा नेता हुन् तिलक श्रीपाइली। नेता श्रीपाइली जसपाको नीति निर्माण, प्रकाशन, कार्यालय सञ्चालन, संगठन निर्माण तथा परिचालनलगायतका महत्त्वपूर्ण भूमिकामा थिए। तर, उनी तत्कालिन समयमा जसपा अघि बढ्न नसक्ने भन्दै गत असोज ७ गते एमालेमा फर्किएका थिए। श्रीपाइलीले भने जस्तै जसपा एक त रहेन नै। आजको दिनमा जसपा अस्तित्वको संकटमा छ।

श्रीपाइलीले आफ्नो भूमिकाबारेमा भने,‘म जस्ता धेरै नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्नु भएको छ। मलाई मात्रै होइन, पार्टीले सबैलाई नीतिगत निर्णय गरेर उचित व्यवस्थापन गर्ला भन्ने आशा छ । अहिले नै आत्तिनु पर्ने अवस्था छैन। तर, पार्टीमा पहुँच नभएका, कुनै पनि गुटमा नलागेका, इमान्दार र क्षमतावान, निष्ठावनान नेता कार्यकर्ताको सहि पहिचान गरेर उचित जिम्मेवारी दिनुपर्छ।’

उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको गतिशिल विचार, प्रभावशाली व्यत्तित्व र राष्ट्रवादी छविबाट हामी प्रभावित छौं । एमाले पार्टीको हरेक कमिटीमा रहेको नेतृत्व अत्यन्तै प्रभावशाली छ। योग्य छ। क्षमतावान छ। निश्पक्ष रूपमा पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुको व्यवस्थापन गर्नु हुनेछ भन्नेमा म ढुक्क छु।’

नेता श्रीपाइलीका अनुसार विभिन्न पार्टी परित्याग गरेर एमालेमा समाहित भएका नेता कार्यकर्ताहरूकै कारण गत चुनावमा एमाले लोकप्रिय मत पाउनेमा पहिलो दल बनेको हो। उनी भन्छन्, ‘पार्टी छोड्नेभन्दा पार्टीमा समाहित हुनेहरुको संख्या बढ्दो छ। व्यवस्थापन कसरी हुन्छ, त्यो भने हेर्न बाँकी छ। पार्टीप्रति जनमानसमा राम्रो नजिर बसाल्नका निम्ति पनि एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई उपयुक्त जिम्मेवारी प्रदान गर्नु आजको शावश्यकता हो।’