काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अरुभन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाव दिएको बताए ।
तर शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको भन्दै यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने रु सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’
सरकार छाड्दै गर्दा आफूहरुसँग भएको सहमति पालाना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’ ‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’
सञ्चार माध्यमहरुलाई लान्छित गर्ने रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए । ‘हामी के ठान्छौं भने प्रेस सिस्टमको अभिन्न अंग हो, त्यहाँ समस्या पनि छ,’ महामन्त्री थापाले भने, ‘नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस् । तर प्रेसलाई ‘ब्ल्यांकेट डिस क्रेडिट’ गर्यो भने लोकतन्त्रमै समस्या आउँछ ।’ उनले अघि भने, ‘प्रेसलाई पनि डर हुनुहुन्न, हामीलाई पनि प्रेसको पनि डर हुनुहुन्न ।’
महामन्त्री थापाले प्रदेश सरकारमा गएको विषयलाई लिएर राप्रपालाई पनि प्रश्न गरेका छन् । राजसंस्था फर्काउँछु भनेर जनतामा भोट मागेर आएको दलका सांसदहरुले यसबारे बोल्न नपाउने भन्ने आफूलाई नलागेको उनले बताए ।
तर प्रदेश खारेज गर्नुपर्छ राप्रपाका नेताहरु सभामुख र प्रदेश सरकारमा मन्त्री भएको भन्दै उनले भने, ‘प्रदेशमा ल्याएको कानुन पास गरौं प्रदेश बलियो हुन्छ। सभामुख भएर यो प्रदेशको संसद कसरी कमजोर बनाउने भनेर दिनरात सोच्नुपर्यो ।’
उनले अघि भने, ‘मन्त्रीहरुले प्रदेश सरकारलाई कसरी असफल बनाउने भनेर सोच्नुपर्यो । प्रदेश सरकार सफल भयो भने त प्रदेश चाहिन्छ भन्ने हुन्छ।’




