काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पाएको भन्दै प्रश्न गरे। उनले नागरिकताका विषयमा उजुरी गर्नेमाथिसमेत प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा बैठकमा आइतबार लामिछानेको प्रसंग निकाल्दै ओलीले भने, ‘उजुरीकर्ता व्यक्तिलाई के मर्का पर्यो ? के सरोकार, के सम्बन्ध हो र के मर्का पर्यो ? के अन्याय पर्यो र न्याय खोजेको हो ? एउटा असम्बन्धित व्यक्तिले निवेदन गरेको छ । यो फैसलाले कसले न्याय पायो ?’ उनले सर्वोच्चको निर्णयलाई भने आफूहरूले मान्ने बताए।
ओलीले प्रक्रियागत त्रुटिका आधारमा व्यक्तिको पद नै गएको टिप्पणी गरे। ‘रवि लामिछाने ढोका खुला राखेर फुत्त संसद्मा पसेका होइनन्,’ उनले भने, ‘उजुरी परेपछि वैधानिक छ भनेर निर्वाचन आयोगले सदर गरेको, सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले छानेको हो। पद गयो, केले भन्दा एउटा प्रक्रियागत त्रुटिले। गृहमन्त्री गयो। उपप्रधानमन्त्री पद गयो। रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो ?’
एमाले अध्यक्ष ओलीले नयाँ सत्ता समीकरणका लागि भइरहेको प्रयासतर्फ संकेत गर्दै कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा बस्न सकस भएको बताए । एक घण्टा लामो भाषणका क्रममा उनले कांग्रेसले राष्ट्रिय सहमति भन्दै आए पनि व्यवहारमा नदेखिएको बताए। उनले राजनीतिक अस्थिरताले ल्याउने संकट कांग्रेसका लागि प्रत्युत्पादक हुने चेतावनी दिए भने २०५२, २०५८ र २०७२ सालको अनुभवबाट शिक्षा लिन आग्रह गरे।
कांग्रेसका कारण प्रतिपक्षमा पुग्नुपरेको स्मरण पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराए। ‘कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको छ तर बाध्यताले प्रतिपक्षमा बस्नुपरेको छ,’ उनले भने, ‘यतिबेला कांग्रेस पानीबिनाको माछोजस्तै छटपटाएको देखिन्छ। सत्ताबाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैंले विश्वास गर्न नसक्ने अवस्था छ। सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग निकै छ।’
ओलीले निषेधको राजनीति गरेको कांग्रेस पुस १० मा ‘उत्तानो परेको’ भन्दै व्यंग्यसमेत गरेका छन्। उनले कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादीलाई लोभमा फसेको बटुवासँग तुलना गरे। बाघको लोभमा फसेर सिकार बनेको बटुवाको नीतिकथा उनले सुनाए । ‘एक दिन बुढो बाघले एक जना महिलालाई झम्टिएर मारेछ। महिला खाइहाल्यो तर उनले लगाएको सुनको बाला बच्यो, त्यसपछि हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ। बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई छ्याम्मै पारेर खाँदो रहेछ। साथीहरू बाला देखेर नलोभियौं,’ अध्यक्ष ओलीले भने।
कांग्रेसले असल रूपमा सरकारलाई समर्थन नदिएको भन्दै सम्पन्न भइसकेको सभामुख निर्वाचनमा नसघाएकामा ओलीले संशय व्यक्त गरेका थिए। कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर ‘ढोक्सा थाप्ने’ काम गरेको आरोप उनको भनाइ थियो। यो सब गर्नुमा चिनतवनको निर्वाचन, राष्ट्रपति चुनावको लागि मात्रै हो। केपी ओली आफैमा पनि अदालतको आदेश मानेका मान्छे होइनन्। उनले गलत रवैयालाई समर्थन गरेर लोकतन्त्रको धज्जि उडाइरहेका छन्।