काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौँमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोखेका छन्।
उनले कतिपय मिडियाको नाम नै किटान गरेर नानाभाँती आरोप लगाएका छन्। आइतबार सरकारबाट बाहिरिने निर्णय गर्दै उनले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको आरोप लगाए। ‘देश नेताले चलाउने हो मिडियाले हैन, लामिछानेले भने।
यस्तै उनले कतिपय मिडियाका सञ्चालकको नाम किटान गर्दै चुनावी प्रतिस्पर्धामा आउन पनि चुनौती दिए। साथै, मिडियाको एक पक्षीय प्रहारका कारण नै अदालतले आफू विरुद्धको मुद्दाको छिटो सुनुवाइ भएको आरोप लगाउँदै उनले भने, ‘अदालतमा कति मुद्दाको चाङ छ होला तर मेरै मुद्दा अगाडि सुनुवाइ किन भयो? मेरै मुद्दा छिन्नका लागि लाइन मिचियो। खैर ठीक छ म त्यसलाई स्वीकार गर्छु।’
यस्तै, देश बिग्रनुमा पनि प्रमुख भनिएका मिडियाको हात रहेको लामिछानेले पत्रकार सम्मेलनमा आरोप लगाए। यस क्रममा लामिछानेले आफूले जनताको भलाइका लागि काम गरिरहँदा मिडियाले भने आफूलाई पाखा लगाउनमा मात्रै केन्द्रित रहेको आरोप सम्मेलन भर दोहोर्याइ रहे। लामिछानेले पत्रकार सम्मेलनको सुरुमै आफू ‘मिडिया इथिक्स’ र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ बारे बोल्ने भन्दै मिडियामाथि आरोप लगाएका थिए।
कान्तिपुर दैनिक, अनलाइनखबर, सेतोपाटी, अन्नपूर्ण, देशसञ्चारलगायतका मिडिया सञ्चालक, सम्पादकमाथि खनिएका लामिछानेले १२ भाईभन्दै जड्याहाको संज्ञा दिएका छन्। भए नभएका शीर्षक दिएर आफूविरुद्ध १२ भाइहरुले षड्यन्त्रपूर्वक समाचारहरू प्रकाशित गरेको आरोप लगाएका छन्।




