प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनबारे छलफल



काठमाडौँ। संघीय संसद्मा रहेका प्रतिपक्षी दलहरूको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनबारे छलफल भएको छ ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले आजको बैठकमा राष्ट्रिय सभाको निर्वाचनको विषयमा पहिलो चरणको छलफल भएको जानकारी दिएका हुन् ।

‘आजको बैठकमा उम्मेदवारीको विषयमा के गर्ने भन्ने विषयमा छोटो छलफल भएको छ ।’ लेखकले भने यसबारे भोलि बैठक बसेर निर्णय गर्छौँ ।’ आजको बैठकमा कांग्रेससहित नेकपा एकीकृत समाजवादी, लोसपा सहभागी थिए ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा आजको सबैको कुरा सुन्ने र बुझ्ने काम भएको बताए । ‘कसले उम्मेदवारी दिने भन्ने विषयमा कुनै पनि राजनीतिक दलले दाबी गरेका छैनन् । सबै परिस्थिति कस्तो हुन्छ त्यही अनुसार निर्णय हुन्छ । राष्ट्रिय सभाको उपाध्यक्षमा हाम्रो चाहिँ दाबी छैन,’ अध्यक्ष नेपालले भने ।