विपक्षी मोर्चाको बैठक शनिबार बस्ने



काठमाडौँ। नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बोलाइएको छ।

कांग्रेसले शनिवार दिउँसो सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।

राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल हुने छ। बिहीबार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा विपक्षी मोर्चाबीच छलफल भएर उम्मेदवारी टुंगो लगाउने निर्णय गरेको थियो। माघ २२ गते राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवार दर्ता गर्ने निर्वाचन कार्यपालिका छ भने २३ गते मध्यान्ह १२ बजे निर्वाचन हुनेछ।

लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ। माघ २५ गते हुने निर्वाचनमा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। विपक्षी मोर्चाको बैठकमा सत्ता गठबन्धनमा देखिएको खटपट र पूर्ववत् गठबन्धन ब्युँताउने विषयमा पनि छलफल हुने बुझिएको छ।