मुख्य दलहरुबीच सहमतिको विकल्प छैन: बाबुराम भट्टराई



काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरुबीच सहमतिको विकल्प नभएको बताएका हुन्। उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्न नहुने बताउँदै डुंगा डुब्दा सबै डुब्ने र देशले ठूलो क्षति ब्यहोर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं। यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन। गम्भीर बनौं।’