काठमाडौँ। यहि माघ १३ गते सर्वोच्च अदालतको फैसाललाले एकाएक गृहमन्त्रीको पदमा पुगेका रवि लामिछानेलाई पदमुक्त गरायो।
उक्त आदेशपछि रविले माघ १५ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः कायम गराए। रवि लामिछानेले गत चुनावमा बा र नानीका बाहरूले देशमा केही गर्न नसकेको र आफूहरूले मौका पाए सबथोक गर्ने चर्को नारा दिएका थिए। तर, जनताको म्यान्डेट विपरित रवि आफैले भनेका बा र नानीका बाहरूको सरणमा पुगेर अराजनीतिक खेल खेलिरहेका छन्।
गृहमन्त्री पद खोसिएपछि लामिछानेले नागरिकता कायम गरेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बारम्बार भेटवार्ता गरिरहेका छन् । रविको छवि देखेर लाज पनि लजाउने अवस्था छ । बहुविवाह देखि टेलिभिजनमा गैर अभिव्यक्ति बोल्नेसम्म, नागरिकतादेखि पासपोर्ट दुरुपयोगसम्म, अमेरिकादेखि नेपालसम्म उनले गरेका गैर कानूनी र विवादीत कार्यहरुलाई उनका समर्थकहरुले अनदेखा गरिरहेका छन् ।
कुनै दिन अरु पार्टीले गैर सांसदलाई मन्त्री बनाउँदा घोक्रो सुक्नेगरी गालि गर्ने रवि यतिबेला भने बा र नानीका बाहरूलाई भेटेर आफूलाई गृहमन्त्रीमा शपथ दिलाइयोस् भन्दै छटपटी रहेका छन् । उनको यो छटपटीमा केपी ओलीको साथ छ। तर, प्रचण्ड भने सकारात्मक छैनन् । केपी ओली स्वयं संविधान कुल्चेर अघि बढेका पात्र हुन् । रविले उनको साथ पाउनुलाई अन्यथा मान्न सकिँदैन। केपी ओलीले रवि लामिछानेलाई उचाल्नुका प्रमुख तीन कारण छन् । पहिलो, राष्ट्रपति निर्वाचनमा रास्वपाको भोट उपभोग गर्न, दोस्रो- चितवन २ को उपनिर्वाचनमा एमालेकाे उम्मेदार खडा गर्न, तेस्रो रविको छविलाई थप बदनाम गराउनु सिवाय अरु केही छैन। जुन कुरा रविले बुझेकै छैनन्।
पहिलो र दोस्रो कारण स्पष्ट बुझिएपनि तेस्रो कारणका बारेमा केही प्रसँगबारे बुझ्न जरुरी छ। नयाँ भनिएका र हामी फरक हौं भन्नेहरुलाई केपी ओलीले सत्ताको टुप्पोमा पुर्याएर भूइमा पछारेका छन्। थप बचे खुचेको प्रतिष्ठालाई पनि खत्तम पार्नेमा ओली देखिन्छन्। रविहरु गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने कुराप्रति असहमति राख्ने गर्थे। तर, आज आफै त्यो स्थानमा पुग्दा भने फरक व्यवहार गरिरहेका छन्।
प्रचण्डले उनलाई फर्काउदा अदालत, जनभावना विपरित हुने र स्वयं रविकै लागि पनि फाइदा नहुने बताइ सकेका छन् । तर, रविले सबै आलोचना र प्रश्नको प्रवाह नगर्ने संकेत गरिसकेका छन् । रविको पछिल्लो सत्तालिप्साको खेललाई लिएर चर्को आलोचना भइरहेको छ । रविको पार्टीले गृहमन्त्री नपाए सत्ता गठबन्धन के होला? रविको पासपोर्ट विवादको निरुण कसरी हुन्छ ? जस्ता प्रश्न उठिरहेका छन् । केही व्यक्तिहरुले रविले राज्य र जनतालाई ढाटेको आरोप लगाइरहेका छन् । जुन कुरा सर्वोच्च अदालतसमेत पुष्टि त गरिसकेको छ । तर, रविका समर्थकहरुले भने अदालतले फसाएको टिप्पणी गरिरहेका छन् ।
आँखा देखिदो सत्यलाई देख्न नसक्ने समर्थकहरुकाे भीडलाई रविले आफ्नो उभिने आधार मानेको देखिन्छ । जुन निक्कै घिन लाग्दो काम हो । सत्ता बाहिर रहँदा एउटा र सत्तामा पुग्दा फरक व्यवबहार गरेकोसम्म नदेख्ने समर्थकका आँखामा कस्तो रोग लाग्यो ? उनले गैर सांसदलाई मन्त्री बनाउन हुन्न भन्थे । तर, आज आफै गैरसांसदको हैसियतमा मालावाला मन्त्रालय नदिए सरकारबाट बाहिरिन्छौं भनिरहेका छन् । यसरी हेर्दा रवि लामिछानेको दर्शन बिनाको दल र उनको अन्तरविरोधी राजनीतिक जीवन अत्यन्तै दुःखद छ।