६ महिनामा १७ सय ४१ वटा विद्युतीय कार भित्रिए



काठमाडौँ। चालू आर्थिक वर्ष २०७९र८० को ६ महिनाको अवधिमा नेपालमा साढे १७ सय वटा विद्युतीय सवारीको आयात भएको छ।

भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा १७ सय ४१ वटा विद्युतीय कार आयात भएको हो। यस अवधिमा १०० किलोवाटसम्मको इञ्जिन भएको विद्युतीय कार सबैभन्दा धेरै भित्रिएका छन्। पुससम्ममा १७ सय वटा १०० किलोवाट क्षमताका विद्युतीय कार भित्रिएका छन् । यस्तै, २०० किलोवाटसम्मका ३५ वटा विद्युतीय कार आयात हुँदा ३०० किलोवाटसम्मका ५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

विभागका अनुसार १०० किलोवाटसम्मका विद्युतीय कार आयात गर्दा ४ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, २०० किलोवाटसम्मका विद्युतीय कार आयात गर्दा १५ करोड ६१ लाख रुपैयाँ र ३०० किलोवाटसम्मका विद्युतीय सवारी आयात गर्दा ३ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ ।

गत महिनासम्म नेपालमा १०० किलोवाट क्षमताका १३ सय २० वटा विद्युतीय कार आयात भएका थिए । र, यिनीहरूको आयात मूल्य कूल ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ रहेको थियो । यस्तै, गत महिनासम्म २०० किलोवाट क्षमताका १३ करोड ५८ लाख रुपैयाँ बराबरका ३० वटा कार भित्रिएका थिए । यसैगरी, १ करोड ८६ लाख रुपैयाँ बराबरका ३०० किलोवाटसम्मका ३ वटा विद्युतीय कार भित्रिएका थिए ।

नेपालले विश्वका ५ वटा मुलुकबाट विद्युतीय कार आयात गर्दै आइरहेको छ । चीन, भारत, इन्डोनेसिया, कोरिया र अमेरिकाबाट विद्युतीय कार भित्रिएको तथ्याङ्क विभागसँग छ । र, सबैभन्दा धेरै चीन र भारतबाटै विद्युतीय कार भित्रिएका छन् । यस अवधिमा भारतबाट सबैभन्दा धेरै ३ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको विद्युतीय कार भित्रिएका छन् ।

खास गरी, भारतमा टाटाले उत्पादन गर्ने विद्युतीय कार नेक्सनले बजार लिइरहँदा नेपालमा समेत यो मोडलले राम्रो बजार लिइरहेको छ । यहीकारण, नेपालमा भारतबाट टाटाको नेक्सन कार भित्रिँदा सबैभन्दा धेरै विद्युतीय कार भारतबाटै आयात भएको देखिएको हो । यतिबेला बजारमा टाटाको नेक्सनले आफ्नो छुट्टै पहिचान बनाइरहेको छ । भारतमा समेत यो मोडलको कार सबैभन्दा धेरै बिक्री भइरहेको कार हो ।

भारतपछि चीनबाट ६० करोड रुपैयाँ बराबरको विद्युतीय कार भित्रिएको छ । यस्तै, कोरियाबाट ८५ करोड रुपैयाँको विद्युतीय कार भित्रिएको छ भने अमेरिकाबाट २ करोड रुपैयाँ बराबरका कार भित्रिएका छन् । यसैगरी, इन्डोनेसियाबाट ६४ लाख रुपैयाँ बराबरको कार भित्रिएको तथ्याङ्क छ ।