बल्ल जुट्यो संगठन निर्माणमा एकीकृत समाजवादी



काठमाडौँ। मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय दल बन्न नसकेको नेकपा एकीकृत समाजवादी संगठन सुदृढीकरण गर्न कार्ययोजना तय गरेको छ।

जसअनुसार पार्टी महासचिव वेदुरामले पार्टीलाई बलियो अवस्थामा पुर्याउने योजनाका साथ अन्तर संगठन निर्देशन (असनि) जारी गरेर मातहतका कमिटीमा पठाएका छन्। असनिमा पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने उल्लेख गरिएको छ।

यस्तै पार्टीका अधिवेशनहरु गर्नका लागि कार्यतालिका पनि तय गरिएको छ। जसअनुसार, वडाहरुमा २०८० वैशाख १५ भित्र, पालिका/विशेष इलाकामा २०८० वैशाख मसान्तभित्र र २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको छ। २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्न र जनसङ्गठनहरूको पुनर्गठन गर्न पनि निर्देशन दिइएको छ।

पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा भएका निर्णयलाई अनुमोदन गर्न र विकसित परिस्थितिमा छलफल गर्न माघ २१ र २२ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ।