जुम्ला। धन कमाउले लक्ष्य बोकेर विदेश गएको छोरा बाकसमा फर्किएपछि जुम्ला तातोपानी–३ लिताकोटकी एकुमाया कार्की भक्कानिइन्।
पैसा कमाउन विदेश गएका छोरा बाकसमा फर्किएपछि उनको होसहवास उडेको छ। साउदीमा फलाम कारखानामा काम गर्दै आइरहेका ४० वर्षीय तिलकबहादुर कार्की गत पुस २८ गते सुतेकै अवस्थामा मृत भेटिएका हुन्। उनी २०७८ पुस २८ गते नेपालबाट गएका थिए।
मृत्यु भएको १५ दिनपछि उनको शव बिहीबार बिहान घर पुर्याइएको थियो। बुवा कल्चु कार्कीले मृत छोराको शव राखिएको बाकसको ताला खोल्दा परिवारमा रुवाबासी चलेको थियो। तिलकको बिहीबार नै दाहसंस्कार गरिएको छ।
तिलककी श्रीमती लक्ष्मी श्रीमान् शव लिन काठमाडौं पुगिन्। भावविह्वल अवस्थामै उनी काठमाडौं पुगेर फर्किइन्। उनीसँगै काठमाडौं गएका नातेदार रामकृष्ण न्यौपाने भन्छन्, ‘कमाउने उमेरमा दैवले खोसेर लग्यो। परिवार विचल्लीमा छ। यो सबै बेरोजगारीको उपज नै हो।’
तिलकले पुस २६ गते बेलुकीपख फोन गरेर आफू बिरामी भएर निको भइसकेको बताएका थिए । त्यो दिन उनले परिवारका सबै सदस्यसँग कुरा गरेका थिए । तिलकका आमाबुवा,श्रीमती दुई छोरा र एक छोरी छिन् । तिलकसँगै उनका जेठा बुवाको छोरा बखतबहादुर पनि सँगै साउदी गएका थिए । तिलकको मृत्यु भएपछि उनले नै घरमा जानकारी दिएका थिए । तिलक तत्कालीन नेकपा माओवादीको सेक्सन कमान्डरसमेत थिए ।
२०६१ मा भूमिगत भएका उनको घरनजिकै २०६२ सालमा नेपाली सेनासँगको भीडन्तमा शरीरमा छर्रा लाग्यो । तीन वटा छर्रा शरीरमै हुँदा पीडा खेपिरहेका उनी उपचारमा राहत मिल्ला भनेर विदेसिएका थिए । ‘शरीरको छर्रा निकालौंला । छोराछोरीलाई लेखपढ गराउँला भनेर साउदी पुगेका थिए,’ आफन्त भक्तबहादुर रावल भन्छन्,‘न परिवारमा खुसी मिल्यो न त शरीरको छर्रा नै निकाल्न पाए । झनै परिवार विचल्लीमा छोडेर गए ।’
तिलकले पटक–पटक शरीरको छर्रा निकाल्ने प्रयास गरे । तर आर्थिक अभावका कारण सफल भएन । पटक–पटक उनी संलग्न माओवादी सरकारमा पुग्यो । तर उनको समस्या सम्बोधन हुन सकेन । पटक(पटक पार्टी सरकारमा गए पनि र ‘जनमुक्ति सेना’ कै सर्वोच्च कमान्डर प्रधानमन्त्री भए पनि तिलकको दुःख हटेन । परिवारको आर्थिक अवस्था सुधार्न साउदी गएका उनी भने बाकसभित्र आए ।
तिलकले महिनामा ३४ हजार नेपाली रुपैयाँ कमाउँथे । उनले मंसिरसम्मको तलब घर पठाए । लिताकोटका कार्की टोलमा करिब ६० घर छन् । कार्कीटोलबाट करिब ६० कै हाराहारीमा खाडी पुगेका छन् । तिलकको मृत्युले जुम्लाको शान्त तिलाकोट गाउँ शोकमा डुबेको छ ।
कार्कीको शव नेपाल ल्याउनका लागि जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङलगायतले सहयोग गरेका थिए । सांसद तामाङले मृतकका परिवारलाई सहयोग गर्न सरकारसँग आग्रहसमेत गरेकी छिन्।
साभारः कान्तिुपर दैनिकमा।