काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताका सम्बन्धमा न्यायाधीशले प्रश्न गरेका छन्।
शुक्रबारको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले सन् २०१५ मा नेपाली नागरिकता देखाएर लामिछानेले पासपोर्ट लिएको सन्दर्भमा प्रश्न गरेका हुन्। ‘सन् २०१५ मा नेपाली नागरिकता देखाएर कसरी पासपोर्ट लिनुभयो?’ लामिछानेको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई खतिवडाले प्रश्न गरे।
लामिछानेले अमेरिकाको नागरिकता लिएको, त्यही बीचमा नेपाल आएको र नेपाली नागरिकताबाटै पासपोर्ट लिएको तथ्य के हो भनेर खतिवडाले प्रश्न गरेका हुन्। जवाफमा केसीले आफूले भन्न खोजेको विषय पासपोर्टको नभएको बताए। उनले झुटा विवरण देखाएको भए पासपोर्ट ऐनअनुसार कारबाही हुने बताए। यद्यपि केसीले लामिछानेले नेपालमा नागरिकता त्यागेर गएको रेकर्ड कहिँ नभएको जिकिर गरे। ‘त्यागेर गएको रेकर्ड नै नभएको अवस्थामा मैले फेरि पाउँ भनेर जाने भन्ने कुरा हुँदैन’, उनको जिकिर थियो।
२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रविले वंशजको नागरिकता लिएका थिए। अमेरिका गएपछि उनले उनले २०७० फागुन ९ मा अमेरिकी नागरिकता र फागुन २१ मा राहदानी प्राप्त गरेका थिए। यस्तै २०७१ जेठ २२ मा अमेरिकी राहदानी प्रयोग गरेर उनी पहिलो पटक गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए।
तर, २०७२ जेठ १३ मा उनले कायम नरहेको आफ्नो पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको देखिन्छ। नेपाली राहदानी बनाएपछि पनि उनले अमेरिकी राहदानी नै प्रयोग गरेर विदेश आउजाउ गरेको अध्यागमनको रेकर्डमा देखिएसँगै न्यायाधीशले इजलासमा प्रश्न गरेका हुन्।
लामिछानेले २०७५ जेठ ४ मा मात्रै नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिएका थिए। तर, यो प्रक्रिया पूरा नहुँदै आफूले अमेरिकी नागरिकता र राहदानी त्यागेको सूचना उनले २०७५ असार ६ मा अध्यागमन विभागलाई दिएका थिए। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा मुद्दाको बहस सकिइसकेको छ।