‘अतिरिक्त महत्वाकांक्षाले लखेटिएका प्रेम’



‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहिछ…’ जे.वि टुहुरेको स्वरमा रहेको गीत हो यो । मदन भण्डारी, राजा वीरेन्द्रलगायतका केही व्यक्तिहरुको मृत्युसँग जोडेर यस गीतलाई प्रस्तुत गर्ने गर्छन् र भन्छन्, ‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहिछ, देशभक्त छोरो मर्दा देशै रुदो रहिछ ।’ देशका निम्ति, व्यवस्था परिवर्तनका निम्ति, मानव समूदायको मुक्तिका निम्ति मर्नुलाई देशभक्त मरण भन्नुपर्छ होला।

खैर, यस स्तम्भमा ‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहिछ…’ लाई फकर प्रसँगसित जोडेर हेरौं । माघ महिनालाई धार्मिक तथा साँस्कृतिक महिना भन्ने गरिन्छ । माघ १ गते चालक दलका ४ सहित ७२ जना बोकेर काठमाडौँबाट पोखराका लागि उडेको यति एअरको विमान सेती खोचमा दुर्घटना भयो। सवार सबैको ज्यान गयो । अथवा सबैलाई धर्मी भनिने महिना माघले रुवायो। उक्त कहालीलाग्दो घटना सेलाउन नपाउँदै माघ १० गते इलामका ३६ वर्षीय प्रेम प्रसाद आचार्यले राजधानीको बानेश्वरमा शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । ११ माघमा उनको उपचारको क्रममा निधन भयो ।
सोही दिन रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा ६ लिवाङ निवासी गोठे दमाईकी ३४ वर्षीया चद्रा दमाईले आफ्ना तीन सन्तानसहित आत्महत्याको प्रयास गरिन।

छोरीहरुको घाटीको डोरी चुडियो। छोरीहरु बाँचिन। आमा र छोराको मृत्यु भयो। त्यतिमात्रै होइन, नेपालमा सरकारी तथ्याङ्कले प्रत्येक दिन १७ जनासम्मले आत्म हत्या गर्छन्। अबोध छोराछोरीहरुलाई एउटै डोरीमा पासो लगाउन बाध्य पार्ने चन्द्रा दमाईमाथि छानविन होला। प्रारम्भिक चरणमा उक्त घटनालाई मिडिया र अरु नागरिकले खासै चर्चामा ल्याउन चाहेनन्। पासोमा सेरिएर पनि बाँच्न सफल चन्द्राकी छोरीहरुको कथा, व्यथा र कहानी अरु कसैको भन्दा कम मार्मिक र कारुणीक छैन। कम पीडादायी छैन।

यता प्रेमले उठाएका सवालहरु राज्यले अनुसन्धान र अनुमोदन गर्ने भनि नै सक्यो । तर, एउटा प्रश्न चाँहि खडा भएको छ, राजधानीमा राज्यलाई गालि गरेर मर्ने र रोल्पा फकर अवस्थाबाट आजित बनेर मर्नेहरुको कथा, व्यथा र बेदना एउटै हो ? पक्कै होइन । आर्थिक अभाव र आर्थिक तनाव एउटै होइन । आर्थिक अभाव जीवन धान्न मुस्किलको अवस्था हो । आर्थिक तनाव व्यावसायमा प्रगति गर्न नसकेर, विनोद चौधरी बन्ने महत्वाकांक्षाको परिणाम हो । घाटी हेरर हाड निल्ने गर्दा कोही कसैले अकालमा ज्यान गुमाउनु पर्ने थिएन कि ?

प्रेमको आत्मदाहालाई विद्रोह भन्ने कि नभन्ने ?

प्रेम प्रसाद आचार्यको आत्मदाहालाई लिएर विभिन्न आवाजहरु उठेका छन्। यतिसम्मकी केहीले त उनलाई शहिद घोषणा गर्न मागसमेत गरेका छन् । खैर, प्रेम प्रसादले राज्यलाई दिएका सुझावहरु ओझिला छन्, आवश्यक छन् । उनको आत्मदाहालाई विभिन्न कोर्णबाट हेर्दा विद्रोह भन्न सकिने स्थिति भने देखिन्न । उनी सुरुदेखि नै ठूलो महत्वाकांक्षाबाट अघि बढेको उनले लेखेको लामो लेखबाट खुल्छ । जहाँ उनले कतारमा ५ हजार कतारी पैसा कमाएको देखि नेपालका ठूला विग मार्टलाई सामान विक्रि गरेसम्मको खुलाएका छन् ।

उनले एक ठाउँमा लेखेका छन्, ‘…बिनोद चौधरी, रतन टाटा, अमिताभ बच्चन, ओशो, स्वामी विवेका नन्द, चाणक्य नीति, गिता, वेद आदि सबैलाई सुन्थे, अध्ययन गर्थे, केही आइडिया र प्रेरणा लिन्थे। र पनि यो देशमा सफल हुन सकिएन। उधारणीय उद्योगी र व्यावसायी बन्न सकिएन, पैसा कमाउन सकिएन, सपना र महत्वाकांक्षा पूरा गर्न सकिएन।’

देशमा प्रेमले भनेझैं रोजगार छैन। उत्पादनको उचित बजारिकरण छैन। कृषकलाई प्रोत्साहन छैन। वेथिति बढेको छ। अराजकताले राज जमाउदै छ। यि आम विषय हुन्। राष्ट्र बन्ने क्रममै छ। देश बनाउने भनेको देशको मुल कानून हो। जो २०७२ सालमा बनेको छ। आजै हामीले विकसित देशको जस्तै विकास र सुशासन खोज्नु पनि राजनीतिक महात्वाकांक्षा हो। यो देशमा दलाल पूँजिवादको चरम रूप प्रकट भइरहेको छ। अरुको मासु खाने जात हो मान्छे। अरुको कमाई, अरुको पसिना, अरुको रगत चुसेर बाँच्दा, अरुलाई लुटेर खाँदा खुशी हुन्छ मान्छेको जात। त्यसैमाथि दलाल पूँजिवादी चेतना भएकाहरुसँग जोगिन नसक्नु प्रेमको कमजोरी देखिन्छ। माथि भनिएझैं घाटी हेर हाड निल्न नसक्नु पनि उनको कमजोरी नै हो। विनोद चौधरी बन्ने अतिरिक्त महात्वाकांक्षाले लखेटिएका प्रेमले स्वदेश तथा विदेशमा रहेर इमान्दारपूर्वक काम गरेका रहेछन्।

विडम्बना राज्यलाई सुझाव दिएको आधारमा आत्महत्या जस्तो कायरतालाई ठिक भन्न सकिन्न। प्रेमले रोजेको बाटो कायरहरुको हो। जुन दुःखद छ। फूल जस्तो श्रीमती र कोपिला जस्ता छोरीहरु, आफन्त, साथीभाईलाई पीडामा पारेर मृत्युवरण गर्नु नै समाधान थिएन। प्रेमले आफ्नो जीवन, श्रीमती, छोरीहरुलाई भन्दा धन, पैसालाई प्रेम गरे। सपना देख्ने हो, तर, विनोद चौधरी नै बन्ने अतिरिक्त महत्वाकांक्षा जायज मान्न सकिन्न। आफ्नो हैसियतको व्यावसाय, आफ्नो हैसियतको ब्यापार, आफ्नो क्षमताको सम्बन्ध राख्नु महत्वपूर्ण कुरा हो। नामी व्यावसायी बन्ने सपना देख्नु र नामी व्यावसायी बन्ने महत्वाकांक्षा पाल्नुबीच फरक छ। सपनाले सोचको खोचमा पुर्याउछ भने महत्वाकांक्षाले धरापको भूमरीमा। जे होस्, प्रेमको आत्मदाहा राष्ट्रिय विषय बनेको छ। उनले लेखेको लामो नोटलाई ओल्टाइ पल्टाइ हेरियोस्। सत्य छानविन होस्। मनोविज्ञानको कसीमा उनको आत्मदाहालाई उभ्याईयोस्।

यति हुँदाहुँदै पनि एउटा कुरा भन्नैपर्छ पछिल्ला वर्षहरुमा यो देशमा जसले राज्यलाई गालि गर्यो, जसले नेतालाई गालि गर्यो, जसले राज्यलाई दोष दियो त्यहि व्यक्ति लोकप्रिय बनेका छन्। रवी, राजेन्द्र, ज्ञानेन्द्रहरुको जन्म राज्य र नेतालाई गाली गरेरै भएको हो। त्यो बाहेक सत्तामा पुग्ने अर्को कुनै योगदान छ? नागरिकता विवादमा मुछिएको व्यक्ति गृहमन्त्री बन्नु हुन्छ? आइसियुमा स्वास्थ्य राज्यमन्त्री प्रवेश गर्न मिल्छ? विनोद चौधरी बन्न सकिन, यो देश लुटेराहरुको हो भन्दै आत्महादा गर्दा विद्रोह भनिदिनु पर्ने? राज्यले शहिद घोषणा गर्नुपर्ने? के सबैले एउटै सोच्नुपर्छ? फरक सोच्न र लेख्न पाईंदैन?