आर्थिक अभाव र तनावका कारण ३४ हजारले गरे आत्महत्या



काठमाडौँ। राजधानीको बानेश्वरस्थित संसद् भवनअगाडि सडकमा इलाम सूर्योदय नगरपालिका– ११ केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे।

तत्काल उद्धारपछि अस्पताल पुर्‍याइए पनि बुधबार उनको मृत्यु भयो। भ्रष्ट राज्य संयन्त्रका कारण आफू बाँच्न नसक्ने स्थितिमा पुगेको भन्दै संसद् भवनअघि उनले आत्मदाहको प्रयास गरेका हुन्। आत्मदाह गर्नुपूर्व उनले सरकारलाई विभिन्न सूझावहरु समेत दिएका थिए। उनका सूझावहरु कार्यान्वयन गर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरिसकेको छ। पछिल्लो समय कोभिड-१९ को संक्रमणपछि नेपालमा आत्महत्याका घटनाहरु निक्कै बढिरहेको सरकारी तथ्याङ्कले देखाउछ।

नेपाल प्रहरीका अनुसार पछिल्लो साढे ५ वर्षमा करिब ३४ हजारले आत्महत्याको बाटो रोजेका छन्। ३३ हजार ९ सय ९६ जनाले यस समयमा आत्महत्या गरेका छन्। आर्थिक वर्ष ०७४/०७५ मा ५४६९ जना, २०७५/०७६ मा ६२७७ जना, ०७६/०७७ मा ५७८५ जना,०७७/९७८ मा सबैभन्दा बढि अर्थात ७१४१ जना, ०७८/१०/११ सम्म ६८३० जनाले आर्थिक अभाव र तनावका कारण आत्महत्या गरेका छन्।

सरकारी अध्ययन तथा अनुसन्धानहरुले बढ्दो महंगी, सहकारी, लघुवित्तको कर्जा, बैंकहरुको चर्को ब्याज, बेरोजगार, विभेद, आर्थिक अभाव र तनावका कारण उक्त संख्यामा आत्महत्या गरेको तथ्याङ्क छ।