काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले २१-२२ गते बस्ने केन्द्रीय कमिटीको बैठकपछि घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ।
उक्त बैठकमा बिधान संशोधन गरेर भएपनि भुसाललाई महासचिव बनाउने तयारी जुटेको एक पदाधिकारी बताउछन्। भुसाल गत २९ पुसमा भूसालले एकीकृत समाजवादीमा समाहित भएका थिए। भूसाललाई एकीकृत समाजवादी पार्टीले पुस ३० गते सचिवालय सदस्यमा मनोनीत गरेको थियो। हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारीमा जुटेको बुझिएको छ।
२०७१ को नवौं महाधिवेशनबाट भूसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए। तर, गत वर्ष मंसिरमा चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा भूसाल उपाध्यक्षमा पराजित भए। त्यसपछि भुसालले उक्त महाधिवेशनलाई सौराहा काण्ड भन्दै आएका छन्। गत २३ असोजमा भूसालले एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका थिए।
त्यस्तै पुराना कम्युनिष्ट नेता वामदेव गौतम पार्टीमा आए उनलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ। गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि वरिष्ठ उपाध्यक्ष थिए।