काठमाडौँ। आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको हो। त्यसको जिम्मा गृह मन्त्रालयलाई दिइएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गरेपछि ती कदमहरू अगाडि बढाउने बताए।
‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ । प्रहरीमार्फत सत्यतथ्य छानबिन गर्छौ । त्यही आधारमा आगामी कदमहरू अगाडि बढ्नेछन्,’ उनले भने।
गृह मन्त्रालयले आजैदेखि छानबिनको काम अगाडि बढाउने बताए। आचार्यले हिजो मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको थियो।
उनले आफ्नै शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट लेखेका थिए । जसले उनले आफूले आत्मदाहको गर्नुको कारण र राज्यले चाल्नुपर्ने कदमका विषयमा लेखेका थिए। सोही आधारमा सरकारले छानबिन गर्ने निर्णय गरेको हो ।