सुर्खेत। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
२७ पुसमा माओवादीका सांसद राज कुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रीमा मंगलबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा सुर्खेतका कृष्णबहादुर जिसी ‘जितेन्द्र’, भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रीमा मंगलबहादुर शाही चयन भएका छन्।
त्यस्तै एमालेबाट भने आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्ल नियुक्त भएका छन्। तर, कर्णाली सरकारले पूर्णता पाउँदै गर्दा महिलाको उपस्थिति शून्य रहेको भन्दै आलोचना सुरु भएको छ।
यसअघि ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा एउटा मन्त्रालय घटाएर ७ सदस्यीय बनाइएको हो। मुख्यमन्त्री शर्माले साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने छन् भने त्यसपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने समयझदारी छ।