काठमाडौँ। वरिष्ठ कम्युनिष्ट नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुन सकारात्मक देखिएका छन् ।
पूर्व एमाले नेतासमेत रहेका नेता गौतमले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्दै आफू एकीकृत समाजवादीमा समाहित हुन तयार रहेको प्रतिकृया दिएका हुन् ।
भेटवार्ताका क्रममा अध्यक्ष नेपालले नेता गौतमलाई यथाशीघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गरेका थिए । जवाफमा नेता गौतमले छिट्टै निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटका क्रममा नेता गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरू अध्यक्ष नेपाललाई हस्तान्तरण गरेका छन् । अध्यक्ष नेपाल र नेता गौतमबीच दस्ताबेजहरू अध्ययन गर्ने र त्यस विषयमा अर्को भेटमा छलफल गर्दै एकताका लागि थप प्रकृया अघि बढाउने सहमति भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भएको भेट एकीकृत समाजवादीका उपाध्यक्ष द्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिव द्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधरलाई अघि राखेर नेता गौतमले एकतावद्ध भए अघि बढ्ने समय टाढा नरहेको समेत प्रतिकृया दिएका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको तत्कालीन ‘नेकपा’ विभाजन हुँदा नेता गौतम भने दुवै समूहमा नलागेर ‘नेकपा एकता अभियान’ सञ्चालन गरेर बसेका थिए । त्यसयता उनी कुनै पार्टीको जिम्मेवारीमा छैनन् ।
पछिल्लो समय गौतमले केही साना कम्युनिष्ट नामका समूहहरूलाई एकतावद्ध गर्दै उक्त अभियानलाई नै दलको रुपमा अघि बढाउने प्रयास गरेका थिए । तर, उनको प्रयास भने सफल हुन सकेन ।